बलात्कार तथा घरेलु हिंसा घटनाका पीडितलाई इन्सेकद्वारा सहयोग प्रदान

कैलाली । २०८१ चैत २० गते

बलात्कार तथा घरेलु हिंसा घटनाका पीडितहरुलाई इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीले ०८१ चैत १९ गते न्यायिक प्रक्रियामा सहयोग गर्न आर्थिक सहयोग प्रदान गरेको छ ।

धनगढी उपमहानगरपालिका–१२ जुगेडाकी १६ वर्षीया बालिकालाई न्यायिक प्रक्रियामा जान सहज होस् भन्ने उद्धेश्यले पीडित परिवारलाई आर्थिक सहयोग रकम प्रदान गरिएको हो ।

पीडित बालिकाको पारिवारिक आर्थिक अवस्था कमजोर भएकाले न्यायिक प्रक्रियामा जानका लागि समस्या भएको भन्दै पीडित बालिकाकी आमाुले इन्सेकद्वारा सञ्चालित मानव अधिकार सहायता कक्षमा निवेदन दिएपछि इन्सेक सुदूरश्चिम प्रदेश कार्यालय, धनगढीले आर्थिक सहयोग स्वरुप १० हजार रुपियाँ प्रदान गरेको हो ।

पीडित बालिकालाई ०८१ साउन ७ गते बलात्कार गरेको आरोपमा धनगढी उपमहानगरपालिका–१२ जुगेडाका २७ वर्षीय राजेश विष्ट विरुद्ध पीडित पक्षले चैत ५ गते जिल्ला प्रहरी कार्यालय, कैलालीमा उजुरी दिनुभएको थियो ।

पीडित बालिकाको स्वस्थ्य परीक्षण चैत ६ गते सेती प्रादेशिक अस्पताल, धनगढीमा गरिएको थियो ।

यसैगरी बलात्कार घटनाका पीडित बालिकालाई इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीले ०८१ चैत १९ गते न्यायिक प्रक्रियामा सहयोग गर्न आर्थिक सहयोग प्रदान गरेको छ ।

जोशीपुर गाउँपालिका–३ बन्जरीयाकी १३ वर्षीया बालिकालाई न्यायिक प्रक्रियामा जान सहज होस् भन्ने उद्धेश्यले पीडित परिवारलाई आर्थिक सहयोग रकम प्रदान गरिएको हो ।

पीडित बालिकाको पारिवारिक आर्थिक अवस्था कमजोर भएकाले न्यायिक प्रक्रियामा जानका लागि समस्या भएको भन्दै पीडितका दाजुुले इन्सेकद्वारा सञ्चालित मानव अधिकार सहायता कक्षमा निवेदन दिएपछि इन्सेक सुदूरश्चिम प्रदेश कार्यालय, धनगढीले आर्थिक सहयोग स्वरुप १० हजार रुपियाँ प्रदान गरेको हो ।

पीडित बालिकालाई ०८१ मङ्सिर २२ गते सामुहिक बलात्कार गरेको भन्दै जोशीपुर गाउँपालिका–३ बन्जरियाका १९ वर्षीय सुमन चौधरी, १८ वर्षीय राजकुमार चौधरी, १९ वर्षीय कुशल चौधरी र १९ वर्षीय आशिक चौधरी विरुद्ध पीडित पक्षले माघ १३ गते इलाका प्रहरी कार्यालय, भजनीमा उजुरी दिनुभएको थियो ।

पीडितको स्वस्थ्य परीक्षण माघ १३ गते सेती प्रादेशिक अस्पताल, धनगढीमा गरिएको थियो ।

यसैगरी घरेलु हिंसा घटनाका पीडित महिलालाई इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीले ०८१ चैत १९ गते न्यायिक प्रक्रियामा सहयोग गर्न आर्थिक सहयोग प्रदान गरेको छ ।

धनगढी उपमहानगरपालिका–१४ फुलवारी डिगाउँकी घरेलु हिंसा घटनाका पीडित ५८ वर्षीया सावीत्री पोखरेललाई आर्थिक सहयोग स्वरुप १० हजार रुपियाँ प्रदान गरेको हो ।

अंशसम्बन्धी मुद्दा जिल्ला अदालतमा काननुी प्रक्रिया रहेकाले कानुनी प्रकृयामा जानका लागि पीडित महिलालाई आर्थिक अभाव भएपछि सहयोग गरि दिन दलित महिला संघ (फेडो)ले इन्सेकलाई सिफारिस गरेपछि इन्सेक सुदूरश्चिम प्रदेश कार्यालय, धनगढीले आर्थिक सहयोग प्रदान गरेको हो ।

आर्थिक अभावका कारण पीडितहरुले न्याय पाउनबाट वञ्चित हुन नपरोस् र पीडितको न्यायमा सहज पहुँच पुगोस् भन्नका लागि इन्सेकले मानव अधिकार सहायता कक्ष मार्फत आर्थिक सहयोग प्रदान गर्दै आएको इन्सेक सुदूरपश्चिम प्रदेश संयोजक खडकराज जोशीले बताउनु भयो ।

मैनामोती चौधरी