हेटौँडामा नेपाल मानव अधिकारसम्बन्धी पुस्तकको समीक्षा तथा मानव अधिकारको अवस्था विषयक छलफल

हेटौंडा सन्देश डटकम । २०८२ जेठ ११ गते

हेटौँडा । बागमती प्रदेशको राजधानी हेटौँडामा आज आइतबार नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ को समीक्षा तथा बागमती प्रदेशको मानव अधिकारको अवस्था विषयक छलफल कार्यक्रमको आयोजना गरिएको छ । कार्यक्रम अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेश कार्यालयले आयोजना गरेको हो ।

मकवानपुरका प्रहरी उपरीक्षक विश्व खड्काको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छलफल कार्यक्रममा पत्रकार सुरेश श्रेष्ठले नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ माथि टिप्पणी गरेका थिए भने पत्रकार प्रताप विष्टले उक्त पुस्तकमाथि समिक्षा गरेका थिए । सो क्रममा बोल्दै प्रमुख अतिथि खड्काले इन्सेक र नेपाल प्रहरीको सम्बन्ध पुरानो रहेको भन्दै विभिन्न घटनाको अनुसन्धानका लागि इन्सेकले सहयोग गरेको प्रति आभार व्यक्त गरे ।

उनले मानव अधिकार आयोगसँग जोडिएको केश नेपाल प्रहरीसँग पनि जोडिएको बताउँदै त्यसतर्फ प्रहरी संवेदनशील भएर लागि परिरहेको बताए । पछिल्लो समय नेपाल प्रहरीको विभिन्न प्रकारको घटनाहरु आउने गरेको भन्दै ती घटना राज्यको दायित्व पूरा गर्ने क्रममा भएको हुनसक्ने उनको भनाई छ ।

उनले भने, ‘८० हजार प्रहरी फौजहरु छन्, तीमध्ये कति जनाले आवेगमा आएर विभिनन घटना घटाएका छन् । आवेगमा गरेर गरेका ती घटनाप्रति कारबाही प्रकृया पनि अगाडि बढाएका छौं ।’ साथै उनले जातिय विभेदका घटना बढ्दो क्रममा रहेको उल्लेख गर्दै जातिय विभेदका विषयमा सबै मिलेर उजागर गर्न लाग्नुपर्नेमा जोड दिए ।

कार्यक्रम इन्सेक बागमती प्रदेश संयोजक गणेश भण्डारीको अध्यक्षता भएको हो । उक्त अवसरमा उनले कार्यक्रममा प्रदेश र जिल्लागत डाटासहित बागमती प्रदेशको मानव अधिकारको अवस्थाबारे प्रस्तुतीकरण दिएका थिए । उनका अनुसार, बागमती प्रदेशमा २ हजार १ सय ७७ वटा मावन अधिकारसम्बन्धी घटना घटेको छ । जसमध्ये ५ सयभन्दा बढी साइबरसम्बन्धी घटना घटेको पाइएको छ ।

कार्यक्रममा गैरसरकारी संस्था मकवानपुरकी अध्यक्ष रमिला सापकोटा, पत्रकार महासंघ बागमती प्रदेशका उपाध्यक्ष हरी हुमागाई, बागमती प्रदेशका विभिन्न विभिन्न मन्त्रालयका प्रतिनिधि, नागरिक समाजका प्रतिनिधिलगायत अन्य सरोकारवालाहरूको सहभागिता रहेको थियो ।

Source: https://shorturl.at/G5ydk