



दैलेख । २०८२ असार ३० गते
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)द्वारा दुल्लूमा गठन गरिएको मानव अधिकार समूहले स्वास्थ्य, शिक्षा र वातावरण सम्बन्धी अधिकारको सवालमा दुल्लू नगरपालिकाका वडा नं. ७, ८ र ९ मा मानव अधिकार प्रवर्धनमा ख्याल पुर्याउन ध्यानाकर्षणपत्र बुझाएका छन् ।
दुल्लू नगरपालिकाका-७ का वडाध्यक्ष कविराज रावत, ८ का वडाध्यक्ष सुशील भण्डारी र ९ का वडाध्यक्ष तिलक उपाध्यायलाई कार्यालयमै पुगी सम्बन्धित वडाका मुख्य समस्याहरुका विषयमा ध्यानाकर्षण पत्र बुझाइएको इन्सेकका जिल्ला सहजकर्ता कलम नेपालीले बताउनुभयो ।
वडा नं. ७ मा खानेपानी स्वच्छता र सहज पहुँच आवश्यक रहेको, वडा नं. ८ साहुवाडा, पौवा, घियातिंदूमा क्षेत्रमा खानेपानीको अभाव रहेको, त्यसै गरी वडा नं. ९ मा प्रेमदेवी मावि धामीगाउँबाट ४० जना विद्यार्थीले एसईई दिएकोमा एकै जना उत्तीर्ण नभएकोले शैक्षिक गुणस्तर सुधार ध्यान दिनुपर्ने ध्यानाकर्षण पत्रमा उल्लेख छ ।
मानव अधिकार समूहका संयोजक द्वय दुर्गे नेपाली, नयाराम रावत, सदस्यहरु सुशीला योगी, टेकबहादुर सुजी समेतको सहभागितामा तीन वटै वडामा पुगेर ध्यानाकर्षण पत्र बुझाइएको थियो । वडाध्यक्षहरुले ध्यानाकर्षणपत्रमा उल्लेख भएका समस्या समाधानमा पहल गर्ने बताउनु भयो ।
अमर सुनार