रोम विधानको पक्ष राष्ट्र बन्न इन्सेकको माग

ढोरपाटन न्यूज डटकम । २०८२ साउन १ गते

म्याग्दी/मानवता विरोधी अपराध तथा आम नरसंहार लगायतका घटनामा उचित कार्वाहीको लागि उत्कृष्ट हुने भन्दै रोम विधानको पक्ष राष्ट्र बन्न इन्सेकले जिल्ला प्रशासन कार्यालय बागलुङमा ज्ञापनपत्र बुझाएको छ ।

अन्तर्राष्ट्रिय न्याय दिवसको अवसरमा इन्सेक प्रतिनिधि अमृत बास्कुने र नेपाल पत्रकार महासंघ बागलुङका उपाध्यक्ष सृजना पन्त लगायतले प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङलाई ज्ञापनपत्र बुझाएका हुन् । अन्तर्राष्ट्रिय फौजदारी अदालतको स्थापनाका लागि रोम विधान पारित गरिएको १७ जुलाईको स्मरणमा रोम बिधानको पक्ष बन्नका लागि ज्ञापन बुझाईएको हो ।

ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी गुरुङले सम्बन्धित निकायमा तत्काल पठाइने प्रतिबद्धता जनाउँदै इन्सेकले गर्ने सकारात्मक काम राज्यका लागि पनि राम्रो पक्ष रहेको धारणा राखेका थिए । विगतमा भएका मानवअधिकार उल्लंघनका गंभीर घटनामा न्याय प्राप्त गर्न भएका प्रयास र अब गर्नुपर्ने कामका बारेमा पनि सजग हुनपर्ने पत्रकार महासंघका उपाध्यक्ष पन्तको भनाई थियो ।

अन्तर्राष्ट्रिय फौजदारी अदालतको रोम विधानको पक्ष राष्ट्र हुनुपर्ने बताउँदै उपाध्यक्ष पन्तले संसारका १ सय २३ राष्ट्रले अनुमोदन गरिसकेको रोम विधान दक्षिण एशियाका बंगलादेश, अफगानिस्तान, मालदिभ्सले लागु गरेपनि नेपाल अहिलेसम्म अन्तर्राष्ट्रिय फौजदारी अदालत रोम विधानको पक्ष राष्ट्र नभएकोप्रति गुनासो व्यक्त गरेकी थिइन् ।

प्रतिनिधि सभाले २०६३ साउन ९ गते नेपाल सरकारलाई अन्तर्राष्ट्रिय फौजदारी अदालतको (रोम विधान) अनुमोदन गर्न निर्देशनात्मक आदेश जारी गर्दै सर्वसम्मत रूपमा संकल्प प्रस्ताव पारित गरेको तथ्य स्मरण गराउँदै मानव अधिकारको विश्वव्यापी आवधिक समिक्षाका क्रममा नेपालको विगतका समिक्षाहरुमा आएको सुझावमध्ये रोम विधान पारित गर्नको लागि धेरै राष्ट्रहरुले गरेको सुझावप्रति ध्यानाकर्षण गराउन पनि ज्ञापनपत्र बुझाइएको इन्सेक प्रतिनिधि अमृत बास्कुनेले जानकारी दिए ।

Source: https://dhorpatannews.com/2025/07/144020/

Source: https://www.lokatantraonline.com/2025/17/32049/