



संखुवासभा । २०८२ भदौ ९ गते
बलात्कार घटनामा पीडित भएकी तीन महिनाकी बालिकालाई कानुनी उपचारमा जान र स्वास्थ्य उपचारका गर्नका लागि इन्सेकले आर्थिक सहयोग प्रदान गरेको छ ।
इन्सेक कोशी प्रदेश कार्यालयले इन्सेक प्रतिनिधि भविन कार्की मार्फत पीडितलाई न्यायिक प्रक्रियामा जान र पीडितको स्वास्थ्य उपचारका लागि १० हजार रुपियाँ आर्थिक सहयोग गरेको हो । जिल्ला प्रहरी कार्यालयका डिएसपी दक्ष कुमार बस्नेतको उपस्थितिमा पीडित पक्षलाई आर्थिक सहयोग हस्तान्तरण गरिएको हो ।
पीडित पक्षले इन्सेक प्रतिनिधिलाई सहयोगका लागि आग्रह गर्दै निवेदन दिएपछि इन्सेकले पीडितलाई सहयोग गरेको हो । पीडित बालिकाको जिल्ला अस्पताल सङ्खुवासभामा उपचार पश्चात सेफ हाउसमा राखिएको छ । आर्थिक अवस्था कमजोर भएका कारण उपचारमा समस्या भएपछि पीडित पक्षले सहयोगका लागि आग्रह गरेको थियो । उपचारका लागि जिल्ला अस्पतालमा भर्ना भएकी पीडित बालिकाको शरीरमा चोट र निलडाम भएको जिल्ला अस्पतालका डाक्टर सन्तोश दवले बताउनु भयो ।
पीडित बालिकालाई ०८२ भदौ ५ गते अस्पताल भर्ना गरिएको छ । इन्सेकको सहयोगपछि पीडित पक्ष कानुनी प्रक्रियामा गएको छ । पीडित पक्षले बलात्कार घटनाका आरोपित १३ वर्षीय बालकविरुद्ध जिल्ला प्रहरी कार्यालयमा भदौ ५ गते उजुरी दिएको छ । प्रहरीले आरोपितलाई सोही दिन गिरफ्तार गरी कानुनी कारबाही अघि बढाएको छ ।
कोशी प्रदेश कार्यालय