युवाको सक्रिय सहभागिता बिना जलवायु परिवर्तन र दिगो विकासका लक्ष्य हासिल गर्न कठिन

धनुषा । २०८२ भदौ ८ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), मिथिला वाइल्डलाइफ ट्रस्ट र युथ एड्भोकेसी नेपाल लगायत संस्थाहरुको सहयोग र युवा संस्थाको आयोजनामा जलवायु परिवर्तन, दिगो विकास र युवाको नेतृत्व विषयक स्थानीय युवा सम्मेलन २०२५ जनकपुरधामस्थित मोडेल कलेजमा ०८२ भदौ ७ गते सम्पन्न भएको छ ।

कार्यक्रमको उद्घाटन सत्रमा मधेस प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. सोहन साहले सरोकारवाला व्यक्तिहरुले युवाको सक्रिय सहभागिता बिना जलवायु परिवर्तन र दिगो विकासका लक्ष्य हासिल गर्न कठिन हुने उल्लेख गर्नु हुँदै यस किसिमका कार्यक्रमले युवाहरुलाई नीतिगत तहमा योगदान गर्न अभिप्रेरित गर्ने बताउनु भयो ।

इन्सेक मधेस प्रदेश संयोजक राजु पासवानले चुरे विनास भइरहेकोले मधेसमा पानीको अभाव देखिएको हुँदा चुरे संरक्षणका लागि सरकार र नागरिक समाज एकजुट भएर लाग्नु पर्ने बताउनु भयो ।

जलवायु परिवर्तन र चुरे विनासका कारण प्रत्यक्ष प्रभाव कृषिमा परेको हुँदा कृषकहरुलाई उचित राहतका लागि सरकारले ठोस योजना ल्याउनु पर्नेमा उहाँले जोड दिनु भयो । जलवायु परिवर्तनका कारण हरेक क्षेत्रमा असर पारिरहेको हुँदा नागरिकको वातावरणीय अधिकारका लागि युवाहरूको भूमिका अहम रहेको उहाँले उल्लेख गर्नु भयो ।

कार्यक्रममा महिला अधिकारकर्मी गुन्जा राईले वातावरण संरक्षण, जलवायु न्याय, हरित अर्थतन्त्र, दिगो विकास लक्ष्य र स्थानीय स्तरमा युवाको भूमिकाबारे सहजिकरण गर्नु भएको थियो ।

त्यस्तै वातावरणीय विज्ञ अजित श्रीवास्तवले जलवायु परिवर्तनका कारण मधेस प्रदेशमा पारेको प्रभावका बारेमा सहजिकरण गर्नु भएको थियो ।

कार्यक्रममा मधेस प्रदेशका युवा तथा वातावरणीय अधिकारका क्षेत्रमा क्रियाशील संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

 

सन्तोष कुमार यादव