करणीबाट पीडित नाबालिकालाई इन्सेकको सहयोग
मुलुकी खबर डटकम । २०८२ भदौ १० गते
संखुवासभा । जबरजस्ती करणी (बलात्कार)बाट पीडित बनेकी संखुवासभाकी ३ वर्षीया नाबालिकालाई मानव अधिकारवादी संस्था अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले आर्थिक सहयोग गरेको छ ।
नाबालिकाको उपचार र कानुनी लडाइँमा सहयोग पुगोस् भनेर इन्सेकले १० हजार रूपैयाँ दिएको हो । न्यायिक प्रक्रियामा जान र स्वास्थ्य उपचारका लागि इन्सेकको कोशी प्रदेश कार्यालयले इन्सेकका संखुवासभा प्रतिनिधि भविन कार्कीमार्फत पीडितलाई सहयोग गरेको हो ।
पीडित पक्षले इन्सेक प्रतिनिधि तथा मानव अधिकारकर्मी कार्कीलाई सहयोगका लागि आग्रह गर्दै निवेदन दिएका थिए । संखुवासभाका प्रहरी प्रमुख डीएसपी दक्षकुमार बस्नेतको उपस्थितिमा पीडितलाई आर्थिक सहयोग हस्तान्तरण गरिएको इन्सेक प्रतिनिधि कार्कीले बताए ।
भदौ ५ गते अस्पताल भर्ना गरिएकी पीडित बालिकाको उपचार जारी छ । अभिभावकको आर्थिक अवस्था कमजोर छ । जबरजस्ती करणी घटनाका आरोपित १३ वर्षीय बालकविरुद्ध भदौ ५ जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको थियो ।
आरोपीलाई पक्राउ गरेर प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ । प्रहरीका अनुसार पछिल्लो समय संखुवासभामा जबरजस्ती करणीका घटनामा वृद्धि भइरहेको छ । अधिकांश घटनामा आफन्त र छिमेकीको संलग्नता पाइएको छ ।
बलात्कारबाट नाबालिकादेखि वृद्धासम्म पीडित भएका छन् । गत आर्थिक वर्ष २०८१–०८२ मा जबरजस्ती करणीका २२ वटा घटना भएको डीएसपी बस्नेतले बताए ।
साउनमा मात्रै बलात्कारका ९ वटा घटना भएका छन् । पीडितमध्ये २ जना नाबालिका छन् ।
Source: https://shorturl.at/N8hkW
HUMAN RIGHTS NEWS PORTAL






