



शिरीष न्यूज डटकम । २०८२ असोज २१ गते
महोत्तरी – असोज १८ गतेदेखिको अविरल वर्षाका कारण महोत्तरीस्थित जिल्ला कारागार जलेश्वर डुवानमा परेको छ । कारागारमा रहेका कैदीबन्दीहरू अहिले सुरक्षित स्थान र खानाको समस्या झेल्न बाध्य भएका छन् । कारागारका निमित्त प्रमुख रबिन ठाकुरका अनुसार कारागारभित्र करिब चार फिटसम्म पानी पसेको छ ।
कुल २ सय ७५ जना कैदीबन्दी रहेको कारागारमा बस्ने ठाँउ, खाद्यान्न, खानेपानी र शौचालयको समस्या उत्पन्न भएको छ । उहाँले पुरानो दुई तल्ले भवनमा सबैलाई सारिएको भए पनि खानाको अभावमा कैदीबन्दीहरू भोकै बस्न बाध्य भएको बताउनुभयो ।
जलेश्वर नगरपालिकाले असोज १९ गते ५० कार्टुन पानी, ५० केजी भुजा र ५० कार्टुन चाउचाउ राहतस्वरूप उपलब्ध गराएको कारागार प्रशासनले जनाएको छ । तर, कारागारमा वृद्ध तथा दीर्घरोगी कैदीबन्दीहरू पनि रहेकाले थप राहत र सहयोगको आवश्यकतामा रहेको कारागार प्रमुख ठाकुरले जानकारी दिनुभयो ।
०८२ भदौ २४ गते जलेश्वर कारागारमा जेनजी आन्दोलनका क्रममा ५ सय ७५ जना कैदीबन्दी फरार भएका थिए । तीमध्ये आफैं फर्किएका र प्रहरीले नियन्त्रणमा लिएका समेत गरी हाल २ सय ७५ जना कैदीबन्दी कारागारमा रहेका छन् ।
Source: https://shorturl.at/j29Qq