प्रदेश स्तरीय मानव अधिकार रक्षक सञ्जालको छलफल सम्पन्न

कैलाली । २०८२ कात्तिक १४ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजनामा प्रदेश स्तरीय मानव अधिकार रक्षक सञ्जालको छलफल कार्यक्रम कात्तिक १३ गते धनगढीमा सम्पन्न भएको छ ।

इन्सेक सुदूरपश्चिम प्रदेश संयोजक खडकराज जोशीले जेनजी आन्दोलनको कारण देशमा उत्पन्न विषम् परिस्थितिमा मानव अधिकार रक्षकहरुलाई कार्यक्षेत्रमा विभिन्न समस्या र चुनौतीको सामना गर्नु परेको अवस्थामा सबै मानव अधिकार रक्षकहरुको सुरक्षा, संरक्षण र प्रवर्धनका लागि मानव अधिकार रक्षकहरु बिच समन्वय हुन आवश्यक रहेको बताउनु भयो ।

उहाँले संघसंस्था प्रतिको नकरात्मक दृष्टिकोणलाई परिवर्तन गर्न जेनजीहरुको धारणा सम्बोधन हुने गरी बहस तथा छलफलको माध्यमबाट सहयोग गर्न सकिने र सरोकारवालाहरुसँग समन्वय बढाउन नियमित भेटघाट र छलफल गर्नु पर्ने संयोजक जोशीले बताउनु भयो ।

फाया नेपालकी अध्यक्ष गोमा आचार्यले मानव अधिकार उलङ्घनका घटनामा वृद्धि भएकाले राष्ट्रिय मानव अधिकार आयोगको अगुवाइमा प्रहरी र प्रशासनसँग छलफल गर्नु पर्ने र मानव अधिकार रक्षकहरुले राजनीतिक दलसँग आवद्ध भएका युवा र जेनजीहरुसँग छलफल गर्नु पर्ने बताउनु भयो ।

मानव अधिकार रक्षक सञ्जालका संयोजक तथा गैरसरकारी संघसंस्थाको सुदूर पश्चिम प्रदेशको अध्यक्ष देविप्रसाद खनालले मानव अधिकार रक्षकहरुले जनताको अधिकारका लागि वाचडकको रुपमा काम गर्दै आइरहेको भएता पनि विभिन्न अरोपप्रत्यारोप लाग्ने गरेकाले अरुको अधिकार हनन नहुने गरी काम गर्नु पर्ने र सूचनाको आदान प्रदानको साथै समस्यालाई साझा गर्नु पर्ने बताउनु भयो ।

मैनामोती चौधरी