७७ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा राजविराजमा बृहत् र्‍याली

अब्लोकिट डटकम । २०८२ मङ्सिर २६ गते

सप्तरी । ७७ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा जिल्ला सदरमुकाम राजविराजमा बृहत् र्‍याली सम्पन्न भएको छ। राष्ट्रिय मानव अधिकार आयोग, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशसहित विभिन्न संघ–संस्थाहरुको संयुक्त आयोजनामा मंसिर २४ गते विहान र्‍याली निकालिएको हो।

यस वर्ष ‘‘घरघरबाट सुरु गरौँ, घरेलु हिंसा अन्त्य गरौँ, मानव अधिकारको रक्षा गरौँ, ७७ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस सफल पारौँ’’ भन्ने मुख्य संदेशलाई केन्द्रमा राखेर र्‍याली सञ्चालन गरिएको थियो। सहभागीहरूले नारासहितका प्लेकार्ड, ब्यानर र झाँकीसहित मानव अधिकार संरक्षण, लैङ्गिक हिंसा रोकथाम, सामाजिक न्याय, समानता, शान्ति र सु–शासनका माग गर्दै राजविराज बजार क्षेत्र परिक्रमा गरे।

शिव मन्दिरबाट सुरु भएको र्‍याली जिल्ला प्रशासन कार्यालय, खानेपानी कार्यालय, महावीर चौक, गजेन्द्र चौक, दशन चौक, राममन्दिर, अदालत रोड हुँदै नगरपालिका रोडमार्ग भएर नेपाल पत्रकार महासंघ राजविराज शाखा कार्यालयमा पुगेर सम्पन्न भएको थियो।

र्‍यालीको उद्देश्य मानव अधिकारप्रति जनचेतना अभिवृद्धि गर्नु, समुदायमा देखिने हिंसा तथा विभेदका घटनाप्रति समाजलाई संवेदनशील बनाउनु तथा जिम्मेवार निकायलाई दायित्वबोध गराउनु रहेको इन्सेक मधेस प्रदेश संयोजक राजु पासवानले बताए।

र्‍यालीमा जिल्ला समन्वय समिति सप्तरीका प्रमुख शिव नारायण साह, प्रमुख जिल्ला अधिकारी टुवराज पौडेल, राष्ट्रिय मानव अधिकार आयोगका प्रतिनिधि, विभिन्न गैर–सरकारी संस्थाका पदाधिकारी, सुरक्षाकर्मी, विद्यार्थी तथा नागरिक समाजका प्रतिनिधिहरूको सहभागिता थियो।

सहभागीहरूले मानव अधिकार दिवस केवल औपचारिकतामा सीमित नराखी नागरिकको मर्यादा, स्वतन्त्रता र सुरक्षासँग प्रत्यक्ष रूपमा गाँसिएको मुद्दा भएकाले राज्यका सबै निकायलाई थप संवेदनशील बन्न आग्रह गरे।

Source: https://ablokit.com/news/2771