प्रतिनिधि सभा निर्वाचन शान्तिपूर्ण बनाउन गृहमन्त्रीको ध्यानाकर्षण
समाचार विचार डटकम । २०८२ पुस २१ गते
हेटौंडा । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक०)का अध्यक्ष विजयराज गौतम र नेपाल मानव अधिकार सङ्गठनका अध्यक्ष इन्द्रप्रसाद अर्यालको नेतृत्वमा गएको टोलीले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन शान्तिपूर्ण, स्वतन्त्र र निष्पक्ष रूपमा सम्पन्न गराउन गृहमन्त्री ओमप्रकाश अर्यालको ध्यानाकर्षण गराएको छ।
इन्सेक अध्यक्ष गौतमका अनुसार देशका विभिन्न स्थानबाट हिंसा, धम्की, डर–त्रास, मतदातामाथि दबाब, राजनीतिक प्रतिशोध तथा घृणात्मक अभिव्यक्तिका घटनाबारे चिन्ता व्यक्त भइरहेकाले ध्यानाकर्षण पत्र बुझाइएको हो। उहाँले निर्वाचनका क्रममा नागरिकका मौलिक अधिकार, विशेषगरी मताधिकार, अभिव्यक्ति स्वतन्त्रता र शान्तिपूर्ण सहभागिताको पूर्ण संरक्षण हुनुपर्नेमा जोड दिनुभयो।
नेपाल मानव अधिकार सङ्गठनका अध्यक्ष अर्यालले लोकतान्त्रिक अभ्यासको मेरुदण्ड निर्वाचन भएकाले यसलाई शान्तिपूर्ण, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्नु अनिवार्य रहेको बताउनुभयो।
ध्यानाकर्षण पत्रमार्फत निर्वाचन अवधिभर देशभर प्रभावकारी, निष्पक्ष र मानव अधिकारमैत्री सुरक्षा व्यवस्था सुनिश्चित गर्न, निर्वाचनसम्बन्धी हिंसा, धम्की, जबर्जस्ती तथा डर–त्रासमा संलग्न जो–कोहीमाथि तत्काल कानुनअनुसार कारबाही गर्न माग गरिएको छ। साथै सुरक्षा निकायलाई राजनीतिक प्रभावबाट मुक्त राखी तटस्थ र पेशागत रूपमा परिचालन गर्न, जेनजी आन्दोलनका क्रममा लुटिएका हतियार तथा जेलबाट भागेका कैदीबन्दीलाई मुख्य सुरक्षा चुनौतीका रूपमा ध्यान दिन र सुरक्षाकर्मीको मनोबल उच्च राख्न आग्रह गरिएको छ।
महिला, दलित, आदिवासी जनजाति, अपाङ्गता भएका व्यक्ति, अल्पसङ्ख्यक समुदाय तथा पत्रकारहरूको विशेष सुरक्षाको सुनिश्चितता गर्न, मानव अधिकार र निर्वाचनसम्बन्धी अन्तर्राष्ट्रिय मापदण्डअनुसार सुरक्षा निकायलाई स्पष्ट निर्देशन र आवश्यक तालिम दिन पनि अनुरोध गरिएको छ।
त्यस्तै स्वच्छ र निष्पक्ष निर्वाचनका लागि नागरिक समाज, मानव अधिकार संस्था तथा निर्वाचन अनुगमनकर्तासँग सहकार्य बढाउन, मतदान, मतगणना र परिणाम प्रकाशन प्रक्रिया पारदर्शी बनाउन तथा पर्यवेक्षक र सञ्चार माध्यमको स्वतन्त्र अवलोकनको सुरक्षा सुनिश्चित गर्न गृह मन्त्रालयको गम्भीर ध्यानाकर्षण गराइएको छ।
ध्यानाकर्षण टोलीमा इन्सेकका सूचना अधिकारी कृष्ण गौतम, इन्सेक बागमती प्रदेश संयोजक शिवप्रसाद खकुरेल, नेपाल मानव अधिकार सङ्गठनका कोषाध्यक्ष टिका डाँगी र कार्यसमिति सदस्य मधुसुधन उपाध्याय सहभागी हुनुहुन्थ्यो।
HUMAN RIGHTS NEWS PORTAL






