अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशको आयोजनामा मानव अधिकार रक्षकहरुका लागि दुई दिने क्षमता अभिवृद्धि तालिम पुस २५ गते जनकपुरधाममा सुरु भएको छ ।
तालिमको उद्घाटन सत्रमा मधेस प्रदेशका सभामुख रामआशिष यादवले लोकतन्त्र, सामाजिक न्याय र विधिको शासन मजबुत बनाउन मानव अधिकार रक्षकहरूको भूमिका महत्वपूर्ण रहेको बताउनु भयो । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मानव अधिकारका अभ्यासको आधारमा जिम्मेवार र प्रभावकारी रूपमा काम गर्न मानव अधिकार रक्षकहरूलाई उहाँले आग्रह गर्नु भयो ।

मानव अधिकार रक्षकहरुको सुरक्षा र संरक्षण आवश्यक रहेकोले इन्सेकले पटक पटक छलफल चलाउँदै आएको मानव अधिकार रक्षकको सुरक्षा सम्बन्धी विधेयकलाई पुनः छलफलमा ल्याई कानुनी रुप दिन समन्वयकारी भूमिका निर्वाह गर्ने प्रतिबद्धता सभामुख यादवले व्यक्त गर्नु भयो ।
राष्ट्रिय मानव अधिकार आयोग मधेस प्रदेश कार्यालयका प्रमुख बुद्धनारायण साहनीले मानव अधिकारको अवधारणा तथा नेपालमा वर्तमान मानव अधिकारका सवाल, मानव अधिकार उल्लङ्घन, ज्यादती र अपराधका बारेमा सहजिकरण गर्नु हुँदै माानव अधिकार रक्षकहरुलाई तथ्य र अध्ययनका आधारमा कार्य गर्न सुझाव दिनु भयो ।
मानव अधिकार रक्षकहरुले कार्य गर्दा चुनौति र जोखिममा रहेर कार्य गर्नु परिरहेको हुँदा मानव अधिकार रक्षकहरुको पहिचान, उनीहरूको कानुनी हैसियत र संरक्षणसम्बन्धी स्पष्ट व्यवस्था हुनुपर्नेमा उहाँले जोड दिनु भयो ।

इन्सेक मधेस प्रदेश संयोजक राजु पासवानले मानव अधिकार रक्षकहरुले सुरक्षा चुनौतिमा कार्य गरिरहेकोले उनीहरुको सुरक्षा र संरक्षण आवश्यक रहेको बताउनु भयो । मानव अधिकार रक्षकको सुरक्षा र पहिचानका लागि छ्ट्टै कानुन आवश्यक रहेको र यसका लागि मधेस प्रदेशका सभामुख यादवसँग पहलकदमी गरिदिनु हुन अनुरोध गर्नु भयो ।
इन्सेक केन्द्रीय कार्यालय, मानव अधिकार शिक्षा कार्यक्रमका फोकल पर्सन तथा अधिवक्ता कृष्णप्रसाद नेपालले दुई दिने तालिमको उद्देश्यमाथि प्रकाश पार्नु हुँदै मानव अधिकार रक्षकहरुले मानव अधिकारमैत्री नीति तथा कानुन बनाउन प्रदेश र स्थानीय सरकारसँग पैरवी गर्नुपर्नेमा जोड दिनु भयो ।

मानव अधिकार समूह मधेस प्रदेशकी अध्यक्ष देवीमाया भट्टराइले मानव अधिकार रक्षकहरु निश्पक्ष र स्वतन्त्र तवरले नागरिकका अधिकारका सवाललाई उठान गरिरहेकाले स्थानीय तहमा जनविश्वास बढेको बताउनु भयो ।
मानव अधिकार रक्षक सञ्जाल मधेस प्रदेशका अध्यक्ष तथा अधिवक्ता राजकुमार महासेठले जोखिमका बाबजुद मानव अधिकार रक्षकहरूले पीडितको पक्षमा खेलेको भूमिका बारे उल्लेख गर्नुहुँदै मानव अधिकार रक्षकहरुको सुरक्षा र सशक्तीकरणको दायित्व राज्यको दायित्व भएको बताउनु भयो ।

महिला मानव अधिकार रक्षक सञ्जाल मधेस प्रदेशकी अध्यक्ष तथा अधिवक्ता रेखा झाले लैङ्गिक हिंसा तथा महिला विरुद्ध हुने हिंसासम्बन्धी अन्तर्राष्ट्रिय, क्षेत्रीय र कानुनी मापदण्डबारे सहजिकरण गर्नु हुँदै मानव अधिकार रक्षकहरूको भूमिकालाई अझ संवेदनशील र सशक्त बनाउन इन्सेकले आयोजना गरेको यो तालिम महत्वपूर्ण रहेको बताउनु भयो ।
तालिममा मानव अधिकारका क्षेत्रमा क्रियाशील मधेस प्रदेशका मानव अधिकार रक्षकहरुको सहभागिता रहेको छ ।
HUMAN RIGHTS NEWS PORTAL






