लौकही हत्या प्रकरण : सशस्त्रले भनेको ‘दोहोरो भिडन्त’ को दाबी झुटो
हाम्रो मत डटकम । २०८२ माघ ११ गते
विराटनगर । सुनसरीको कोशी गाउँपालिका–१, लौकहीस्थित पुरी टोलमा गत पुस १७ गते बिहान सशस्त्र प्रहरीको गोली प्रहार र त्यसपछि सिर्जित परिस्थितिबारेमा मानवअधिकारवादी संस्था इन्सेकले आफ्नो प्रतिवेदन सार्वजनिक गरेको छ ।
दैनिक गुजाराका लागि भारतीय सीमावर्ती बजारबाट उपभोग्य वस्तु ओसार्ने कार्यमा संलग्न ५० वर्षीय सिटी सफारी चालक विजय साहको प्रहरीको गोली लागि हत्या भएको थियो । सो घटना सामान्य लेनदेनको विवादमा ज्यान लिइएको अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले जनाएको छ ।
इन्सेकका संयोजक मनोहरकुमार पोखरेल, मानव अधिकार रक्षक सञ्जालका संयोजक देबी बास्कोटा, अधिकारकर्मी चुन्नी खातुनसहितको टोलीले गरेको स्थलगत अनुगमन प्रतिवेदनले सो घटनालाई राज्य पक्षबाट भएको मानव अधिकारको गम्भीर उल्लंघन र बाँच्न पाउने हकको अपहरणका रूपमा परिभाषित गरेको छ ।
घटनाको दिन पुस १७ गते बिहान करिब १ बजेर ५ मिनेट जाँदा विजय साह आफ्नो सफारीमा चिनी र चकलेटजस्ता दैनिक उपभोग्य वस्तु लिएर घरतर्फ फर्कँदै गर्दा सशस्त्र प्रहरी बलको अस्थायी पोस्ट नम्बर २ नजिक रोकिएका थिए । सोही स्थानमा खटिएका सशस्त्र प्रहरी हवल्दार नवराज खतिवडा र साहबीच थप ५०० रुपैयाँ अवैध असुलीको विषयमा भनाभन भएको अनुगमन टोलीको निष्कर्ष छ । सीमा क्षेत्रमा हुने यस्ता सेटिङ र मौन स्वीकृतिका आधारमा हुने अवैध कारोबारमा सुरक्षाकर्मीले आफ्नै दरभाउ तोक्ने गरेको र सोही रकममा कुरा नमिल्दा उत्पन्न भएको आक्रोशले अन्ततः एक निशस्त्र नागरिकको ज्यान लिएको प्रतिवेदनमा उल्लेख छ ।
अनुगमन टोलीले संकलन गरेको तथ्य अनुसार मृतक साहले पहिलो पटक सामान पु¥याएर दोस्रो पटक सामान लिन गएका थिए । दोस्रो खेप लिएर फर्कने क्रममा हवल्दार खतिवडाले सामान धेरै भएको भन्दै थप ५ सय रुपैयाँ माग गरेपछि विवाद सुरु भएको थियो । विवाद बढ्दै गएपछि साहले आफ्नो सफारी अगाडि बढाउन खोजेका थिए, तर सुरक्षाको जिम्मा पाएका सुरक्षाकर्मीले सम्झाउनु वा कानुनी प्रक्रिया अपनाउनुको साटो सिधै गोली हान्ने धम्की दिएका थिए ।
लगत्तै अत्यन्तै नजिकबाट प्रहार गरिएको गोली साहको छाती र बायाँ पाखुरामा लागेपछि उनको सफारीकै चालक सिटमै मृत्यु भएको थियो । यस घटनामा सुरक्षा निकायले सुरुमा दोहोरो भिडन्त वा आत्मरक्षाको कुरा गर्न खोजे पनि घटनास्थलमा पुगेको अधिकारकर्मीको टोलीले त्यस्तो कुनै चिन्ह फेला नपरेको जनाएको छ ।
मृतक पूर्णतः निशस्त्र रहेको र उनी आफ्नै कार्यस्थल अर्थात् चालकको सिटमा मृत फेला परेको तथ्यले सुरक्षाकर्मीले दाबी गरेको दोहोरो भिडन्तको कुरा झुटो रहेको पुष्टि गरेको छ । गोली चलेको आवाज सुनेपछि सुरुमा स्थानीयले नयाँ वर्षको उत्सवमा पटका पड्किएको ठानेका थिए, तर जब घटनाको वास्तविकता बाहिर आयो, त्यसले सम्पूर्ण लौकही क्षेत्रलाई नै आक्रोशित बनाउँदा भोलीपल्टको घटना भएको प्रतिवेदनमा उल्लेख छ ।
आक्रोशित स्थानीय र मृतकका आफन्तले शवलाई महेन्द्र राजमार्गको लौकही खण्डमा राखेर विरोध प्रदर्शन सुरु गरे । ५०० रुपैयाँका लागि गरिबको ज्यान लिने ? भन्दै प्रदर्शनकारीले सडकमा टायर बालेर आवागमन पूर्ण रूपमा ठप्प पारेका थिए । स्थिति यतिसम्म बिग्रियो कि भीडले दुईवटा अस्थायी सशस्त्र प्रहरी पोस्टमा तोडफोड गरी आगजनी समेत ग¥यो । त्यसपछि आक्रोशित भीड बीओपी लौकही कार्यालय घेराउ गर्न पुगेको थियो, जहाँ सुरक्षाकर्मीमाथि ढुङ्गामुढा र पेट्रोल बम समेत प्रहार गरिएको प्रतिवेदनमा उल्लेख छ ।
स्थिति नियन्त्रण बाहिर जान थालेपछि सशस्त्र प्रहरीले व्यापक बल प्रयोग गरेको थियो । प्रहरीले भीडलाई तितरबितर पार्न ४ वटा ग्यास ग्रेनेड र ११८ वटा ग्यास सेल प्रहार गर्नुका साथै राजमार्ग क्षेत्रमा करिब २०० राउण्ड हवाई फायर समेत गरेको थियो ।
यस झडपका क्रममा सशस्त्र प्रहरीका १३ जना सुरक्षाकर्मी घाइते भएका थिए, जसमा सशस्त्र प्रहरी सहायक निरीक्षक प्रलाद बस्नेतको नाकमा गम्भीर चोट लागेको थियो । भौतिक क्षतितर्फ सुरक्षा निकायका तीनवटा गाडीका सिसा तोडफोड हुनुका साथै सञ्चार उपकरणमा समेत क्षति पुगेको थियो ।
प्रशासनिक स्तरमा घटनाको समाधानका लागि पुस १७ गते नै जिल्ला प्रशासन कार्यालयमा पीडित पक्ष र प्रशासनबीच छलफल भई ५ बुँदे सहमति भएको छ । सहमतिमा सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा ३ सदस्यीय छानबिन समिति गठन गर्ने, दोषी सुरक्षाकर्मीलाई कानुनी कारबाहीको दायरामा ल्याउने, र तत्कालका लागि क्रिया खर्च स्वरूप १ लाख रुपैयाँ उपलब्ध गराउने जस्ता बुँदाहरू समावेश छन् ।
यद्यपि, पीडित परिवारले हालसम्म जाहेरी दर्ता गर्न खोज्दा पनि जाहेरी दर्ता नगरिएको गुनासो अधिकारकर्मी टोलीसमक्ष गरेका छन् । मृतकका जेठा छोरा महेश कुमार साह, जो आफैँ अपाङ्गताका कारण काम गर्न असमर्थ छन्, उनले आफ्ना बाबुको हत्याले परिवारको सहारा नै खोसिएको भन्दै भावुक अभिव्यक्ति दिएका छन् ।
मृतककी पत्नी गीतादेवी साहले पनि सीमामा खटिएका सुरक्षाकर्मीले पैसाकै लागि आफ्नो पतिको ज्यान लिएको र अब आफ्नो र छोराछोरीको भविष्य अन्धकारमा परेको बताउँदै न्यायको याचना गरेकी छिन् । मानव अधिकार अनुगमन टोलीले प्रतिवेदनमा सीमा क्षेत्रको सुरक्षा व्यवस्थापनमा गम्भीर प्रश्न उठाएको छ । सुरक्षाकर्मी र व्यापारीबीच हुने अपारदर्शी लेनदेन र सेटिङले नै यस्ता हिंसात्मक घटना निम्त्याउने गरेको निष्कर्ष टोलीको छ । प्रतिवेदनमा नागरिकको जिउधनको रक्षा गर्न खटिएका सुरक्षाकर्मी नै हत्यामा संलग्न हुनुले कानुनी शासनको उपहास गरेको उल्लेख छ ।
टोलीले आरोपित सुरक्षाकर्मीमाथि फौजदारी अपराध अन्तर्गत निष्पक्ष अनुसन्धान गरी कडा कारबाही गर्नुपर्ने, पीडित परिवारलाई राज्यले दीर्घकालीन सामाजिक सुरक्षा र उचित क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने र छानबिन समितिको प्रतिवेदन सार्वजनिक गरी दोषीलाई कुनै पनि हालतमा उन्मुक्ति दिन नहुने सुझाव पनि दिएको छ ।
साथै, सीमा क्षेत्रमा हुने तस्करी रोक्न सुरक्षाकर्मीको भौतिक उपस्थितिसँगै प्रविधिको प्रयोग बढाउन र भन्सार प्रशासनलाई बलियो बनाउन सुझाव दिइएको छ ।
HUMAN RIGHTS NEWS PORTAL






