आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि छायाँ प्रतिवेदन सम्बन्धी कार्यशाला सम्पन्न

सबै समाचार डटकम । २०८२ माघ २३ गते

हेटौंडा– आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि (ESCR) को छायाँ प्रतिवेदन तयारी र सन्धि कार्यान्वयन प्रक्रियाबारे छलफल गर्न हेटौंडामा प्रदेशस्तरीय कार्यशाला सम्पन्न भएको छ। इन्सेक बागमती प्रदेशको आयोजनामा बिहीबार कार्यक्रम गरिएको हो।

इन्सेक कार्यसमिति सदस्य विद्या चापागाईंको अध्यक्षतामा सम्पन्न कार्यशालामा बागमती प्रदेश सरकारकी मुख्य न्यायाधिवक्ता अप्सरा बस्नेत प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। कार्यक्रममा मानव अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय सन्धिहरूको अनुगमन, सन्धि निकायमा प्रतिवेदन पेस गर्ने प्रक्रिया, तथा सन्धिअन्तर्गत सरकारका दायित्व प्रभावकारी रूपमा कार्यान्वयन गराउन दबाब सिर्जना गर्ने उद्देश्यबारे चर्चा गरिएको थियो।

कार्यशालामा प्रस्तुति दिँदै इन्सेक कार्यसमिति सदस्य डा. विद्या चापागाईंले आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारसम्बन्धी महासन्धिअन्तर्गत राष्ट्रले पेस गर्नुपर्ने प्रतिवेदनका मुख्य विषयवस्तुहरूबारे जानकारी गराउनुभयो। उहाँले सन् २०१४ मा नेपालको तेस्रो आवधिक प्रतिवेदनमाथि सम्बन्धित समितिबाट प्राप्त सिफारिस, नेपाल सरकारको चौथो आवधिक प्रतिवेदन, नागरिक समाजको भूमिकासहित छायाँ प्रतिवेदनमा समेटिनुपर्ने प्राथमिक विषय र उदीयमान मुद्दाहरूबारे विस्तृत व्याख्या गर्नुभयो।

त्यस्तै, इन्सेक मानव अधिकार बहस पैरवी विभाग प्रमुख सम्झा श्रेष्ठले देशका अन्य छ प्रदेशमा यस्ता कार्यक्रम सम्पन्न भइसकेको जानकारी दिँदै बागमती प्रदेश अन्तिम चरणको कार्यक्रम भएको बताउनुभयो। उहाँले ESCR महासन्धिको पृष्ठभूमि, आवधिक प्रतिवेदन प्रणाली, समिक्षा प्रक्रिया तथा सिफारिस कार्यान्वयनका चुनौतीहरूबारे प्रस्तुति दिनुभयो।

कार्यक्रममा सहभागीहरूले प्रतिवेदनमा समावेश हुन छुटेका विषयहरूबारे सुझाव प्रस्तुत गरेका थिए। छलफलका क्रममा मानसिक स्वास्थ्य, बाल अधिकारलगायत समसामयिक सामाजिक समस्याहरूलाई छायाँ प्रतिवेदनमा प्राथमिकताका साथ उठाउनुपर्ने आवश्यकता औंल्याइएको थियो।

इन्सेक बागमती प्रदेश संयोजक शिव खकुरेलले सञ्चालन गर्नुभएको कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोग बागमती प्रदेशका मानव अधिकार अधिकृत जागेश्वर चापागाईं, गैरसरकारी संस्था महासंघ बागमती प्रदेश अध्यक्ष कमल कुमार विश्वकर्मा, प्रदेश बाल अधिकार समिति सदस्य झबिन्द्र ज्ञवाली र प्रकाश खतिवडा, गैरसरकारी संस्था महासंघ मकवानपुर जिल्ला अध्यक्ष रमिला सापकोटालगायत मानव अधिकार तथा सामाजिक क्षेत्रमा क्रियाशील संघसंस्थाका प्रतिनिधि र सञ्चारकर्मीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

यसैबिच मानव अधिकार संरक्षक समिति बागमती प्रदेशको पनि दोस्रो बैठक बसेको छ । समितिका बागमती प्रदेश अध्यक्ष दिपेन्द्र ढकालको सभाध्यक्षतामा बसेको बैठकले आगामी फागुन २१ गते हुने चुनावलाई कसरी मर्यादित भयरहित बनाउने भन्ने विषयमा छलफल गरेको थियो ।

Source: https://shorturl.at/UKccO