स्वच्छ निर्वाचनका लागि नागरिक अभियानद्वारा निर्वाचन आचारसंहिता पूर्ण रूपमा पालना गर्न आह्वान
सत्य दर्शन डटकम । २०८२ माघ ८ गते
काठमाडौं, ८ माघ । स्वच्छ निर्वाचनका लागि नागरिक अभियान (सिसिसिई)ले आज प्रेस विज्ञप्ति जारी गरी आसन्न प्रतिनिधिसभा निर्वाचनमा आचारसंहिता पूर्ण रूपमा पालना गर्न आहवान गरेको छ ।
नेपाल मानव अधिकार सङ्गठनका अध्यक्ष इन्द्रप्रसाद अर्याल र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)का अध्यक्ष विजयराज गौतमले संयुक्त रुपमा बिहीवार जारी गर्नुभएको विज्ञप्तिमा आगामी निर्वाचनलाई स्वच्छ, निष्पक्ष, स्वतन्त्र र विश्वसनीय बनाउनका लागि निर्वाचन आचारसंहिताको प्रभावकारी पालना अत्यन्तै आवश्यक रहेको जनाएको छ।
विज्ञप्तिमा आगामी निर्वाचनमा संलग्न सबै सरोकारवालाहरू, राजनीतिक दल, उम्मेदवार, सरकारी निकाय, सुरक्षाकर्मी, सञ्चारमाध्यम तथा मतदाताहरूलाई निर्वाचन आचारसंहिता अक्षरशः पालना गर्न हार्दिक आह्वान गरिएको छ।
निर्वाचन लोकतन्त्रको मेरूदण्ड हो । निर्वाचन प्रक्रियामा हुने हिंसा, डरत्रास, मतदाता प्रलोभन, सरकारी स्रोतसाधनको दुरूपयोग, घृणात्मक अभिव्यक्ति, गलत सूचना तथा सामाजिक सञ्जालको दुरूपयोगले निर्वाचनको विश्वसनीयतामाथि गम्भीर प्रश्न उठाउँछ । यस्ता गतिविधिहरूलाई रोक्न निर्वाचन आयोगद्वारा जारी आचारसंहिता सबैका लागि बाध्यकारी हुनुपर्दछ, विज्ञप्तिमा उल्लेख छ,– स्वच्छ निर्वाचनका लागि नागरिक अभियान राजनीतिक दल र उम्मेदवारहरूलाई शान्तिपूर्ण, मर्यादित र मुद्दा–केन्द्रित चुनावी प्रतिस्पर्धा गर्न आग्रह गर्दछ । साथै, निर्वाचन आयोगलाई आचारसंहिता कार्यान्वयनमा थप प्रभावकारी भूमिका निर्वाह गर्न तथा उल्लङघनका घटनामा निष्पक्ष र कडाइका साथ कारबाही गर्न अनुरोध गर्दछ ।
निर्वाचनका सम्पूर्ण प्रक्रियाहरू हामीले नजिबाट अवलोकन गरिरहेका छौं। मनोनयन क्रममा देखिएको उत्साह र जन सहभागीता प्रशसनीय छ। तर केही स्थानमा देखिएको तडकभडक र उत्तेजक गतिविधि आचारसंहिता विपरित देखिएकोले सम्बन्धीत पक्षलाई ध्यानाकर्षण गराउदै सिसिसिईले सुरक्षा निकायहरूलाई निर्वाचन अवधिभर शान्ति सुरक्षा कायम गर्न निष्पक्ष र व्यावसायिक भूमिका निर्वाह गर्न तथा सञ्चारमाध्यमलाई जिम्मेवार, तथ्यपरक र सन्तुलित समाचार सम्प्रेषण गर्न आग्रह गरेको छ । मतदाताहरूलाई पनि कुनै पनि किसिमको प्रलोभन, दबाव वा गलत सूचनाबाट प्रभावित नहुन र आफ्नो मताधिकार स्वतन्त्र रूपमा प्रयोग गर्न अनुरोध समेत गरिएको छ ।
स्वच्छ, निष्पक्ष र भयरहित निर्वाचन नै लोकतन्त्र सुदृढीकरणको आधार रहेकोले अभियानले निर्वाचनलाई स्वच्छ र विश्वसनीय बनाउन निरन्तर निगरानी, सहकार्य र नागरिक सचेतनामा सक्रिय रूपमा लागिरहने प्रतिबद्धता व्यक्त समेत विज्ञप्तिमार्फत गरिएको छ ।
Source: https://shorturl.at/EKkXo
HUMAN RIGHTS NEWS PORTAL






