दुधैला खोलामा विस्फोटपछि मानवअधिकारकर्मी सक्रिय

लोक नेपाल डटकम । २०८२ फागुन १४ गते

राजविराज- सप्तरीको रुपनी गाउँपालिका-६ स्थित दुधैला खोलामा गत माघ २४ गते भएको शंकास्पद वस्तु विस्फोट घटनाबारे संयुक्त रूपमा स्थलगत अनुगमन गरिएको छ।

अनौपचारिक सेवा केन्द्र (इन्सेक) र राष्ट्रिय मानवअधिकार आयोगको संयुक्त टोली घटनास्थल पुगेर स्थलगत अध्ययन तथा अनुगमन गरेको हो।

अनुगमनका क्रममा टोलीले रुपनी गाउँपालिका अध्यक्ष दिनेश यादवसँग घटनाको समग्र अवस्थाबारे छलफल गर्नुका साथै विस्फोट भएको स्थानको निरीक्षण गरेको थियो।

टोलीले घाइते बालबालिका र उनीहरूका आफन्तसँग भेटघाट गरी घटनाको वास्तविक अवस्थाबारे विस्तृत जानकारी संकलन गरेको मानवअधिकारकर्मी नविन यादवले बताए।

संयुक्त अनुगमन टोलीमा आयोगका मधेस प्रदेश प्रमुख बुद्ध नारायण सहनी, इन्सेक मधेस प्रदेश संयोजक राजु पासवान तथा मानवअधिकारकर्मी नविन यादवलगायतको सहभागिता रहेको थियो। घटनासम्बन्धी थप तथ्य संकलन तथा अनुसन्धान प्रक्रिया जारी रहेको जनाइएको छ।

विस्फोटमा घाइते पाँच जनामध्ये तीन जना उपचारपछि घर फर्किएका छन् भने रुपनी गाउँपालिका–६ का ९ वर्षीय प्रासिस (देव थापा मगर) र ११ वर्षीय साहस आले मगरको इटहरीस्थित सैनिक अस्पतालमा उपचार भइरहेको छ।

Source: https://www.loknepal.com/main-news/2026/02/19/2006/