इन्सेकद्वारा निर्वाचन पूर्व अनुगमनः सरोकारवाला बिच छलफल

धादिङ । २०८२ फागुन १२ गते

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित बनाउन गरिएको पूर्व तयारी, सुरक्षा व्यवस्था र अन्य व्यवस्थापकीय तयारीका बारेमा जानकारी लिन इन्सेक बागमती कार्यालयले धादिङमा ०८२ फागुन १२ गते  निर्वाचन  पूर्व अनुगमन गरेको छ ।

इन्सेक बागमती प्रदेश संयोजक शिवप्रसाद खकुरेलको नेतृत्वको टोलीले पूर्व अनुगमनमा सुरक्षा निकायका प्रमुखहरु, प्रमुख निर्वाचन  अधिकृत, आचारसंहिता अनुगमन अधिकृत तथा नागरिक समाज र पर्यवेक्षकहरुसँग छलफल गरेकाे हाे ।

स्वच्छ , भयरहित र निष्पक्ष निर्वाचनका लागि मतपत्र प्राप्ती सहित आवश्यक तयारी पूरा भएको, मतदानमा खटिने कर्मचारीको तालिम र नियुक्ति भइरहेको, दल र उम्मेदवारसँग छलफल र समन्वय जारी रहेको मुख्य निर्वाचन अधिकृत रामप्रसाद शर्माले बताउनुभयो ।

        

पूर्व अनुगमनको क्रममा प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीले सुरक्षा व्यवस्था चुस्त दुरुस्त बनाइएको, आचारसंहिता पालना भएको, निर्वाचन प्रचारप्रसारमा सरलता आएको, दलहरु आफैले सर्वदलिय बैठक गरि आपसी सहमतिमा स्वच्छ र मैत्रीपूर्ण निर्वाचनको वातावरण बनाएको बताउनुभयो ।

मतपेटिका र मतपत्र ढुवानी साथै सुरक्षा र सहि सूचनाका लागि सूचना प्रणाली व्यवस्थापन गरिएको प्रमुख जिल्ला अधिकारी सुवेदीले बताउनु भयो ।

जिल्ला प्रहरी प्रमुख एस्‌पी सुमित खड्काले जिल्लाको १ सय ८ अति संबेदनशील र ६ संबेदनशील मतदान स्थलका लागी सुरक्षा प्रबन्ध मिलाइएको बताउँदै कर्मचारी, मतदानस्थल, मतपेटिका, उम्मेदवार र मतदाताको सुरक्षा प्रबन्ध मिलाइ सुरक्षा योजना अनुसार काम गरिएको बताउनुभयो ।

जिल्ला निर्वाचन अधिकारी शिव गुरुङले मतदान अधिकृत र सहायक मतदान अधिकृतको तालिम भइरहेको, आयोगले दिने १३ किसिमका सामाग्री र जिल्लामा खरिद भएका ३७ किसिमका सामाग्री र मतपेटिका समेत मतदान केन्द्रमा पठाउने तयारी भइरहेको बताउनु भयो ।

      

निर्वाचन आचारसंहिता अनुगमन अधिकृत सहायक प्रमुख जिल्ला अधिकारी मोहन न्यौपानेले आचारसंहिता उल्लंघनका घटना न्यून संख्यामा भएकोले नियमन गरिएको साथै जिल्लामा निर्वाचनका लागी मैत्रीपूर्ण वातावरण बनेको बताउनुभयो ।

जियोकका अध्यक्ष अधिवक्ता विश्वराज अधिकारी, नियोकका सचिव रमेश अधिकारी र मानव अधिकार संगठनका अध्यक्ष अधिवक्ता कृष्णराज अधिकारी, सचिव इश्वर थापामगर, लगायतसँग भएको छलफलमा पर्यवेक्षण गर्ने संस्थाहरुले पर्यवेक्षकहरुलाई अभिमुखिकरण प्रदान गरी आचारसंहिताको कार्यान्वयनमा सहयोग पुर्‍याएको र पर्यवेक्षकहरुले निर्वाचनको स्वच्छता, स्वतन्त्रता र सुरक्षा व्यवस्थाको प्रबन्धमा पर्यवेक्षणका लागी तयार रहेको विषयमा अर्न्तक्रिया भयो ।

यसैगरि इन्सेकका बागमती प्रदेश संयोजक शिव प्रसाद खकुरेलले नेपालमा प्रजातान्त्रको पुर्नस्थापना पछि भएका सबै निर्वाचनहरुमा अनुगमन तथा पर्यवेक्षण गर्दै आएको बताउदै यस पटक पनि मुलुकभर निर्वाचन पर्यवेक्षणका लागि २ सय ३२ जना पर्यवेक्षक खटाइएको जानकारी दिनुभयो । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को निर्वाचन पुर्व पर्यवेक्षणका क्रममा पर्यवेक्षकहरुलाई पर्यवेक्षणको महत्व, यसको नितिगत प्रभाव, पर्यवेक्षकको भुमिका र आचरणबारे स्पष्ट पार्नु भयो ।

धादिङमा इन्सेक मार्फत दुई, मानवअधिकार संगठनका आठ, नियोकका १२ र जियोकका सात जनाले पर्यवेक्षण गर्ने छन् ।  

सीताराम अधिकारी