सिन्धुपाल्चोकमा इन्सेकद्धारा निर्वाचन पूर्व अनुगमन

सिन्धुपाल्चोक । २०८२ फागुन १८ गते

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि सिन्धुपाल्चोकमा भएको पूर्वतयारीका सम्वन्धमा इन्सेकले ०८२ फागुन १७ गते अनुगमन गरेको छ ।

इन्सेक बागमती प्रदेश संयोजक शिवप्रसाद खकुरेलको नेतृत्वमा गरिएको अनुगमनका क्रममा मुख्य निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका प्रमुखहरु सँग भेटघाट र छलफल गरिएको थियो ।

मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश रिताकुमारी बख्रेलले जिल्लाका सबै मतदान केन्द्रहरुमा कर्मचारीहरु खटाइसकिएको जानकारी दिनुभयो । निर्वाचनका लागि खटाइएका कर्मचारीहरु १७ गते देखि सम्वन्धित मतदान केन्द्रतर्फ प्रस्थान गर्ने ब्यवस्था गरेको बताउनुभयो । कर्मचारीहरुलाई तालिम दिएको, जिल्ला तहमा सर्वदलिय बैठक राखेर निर्वाचन आचारसंहिता बारे राजनीतिक दललाई जानकारी गराएको, निर्वाचन प्रचारप्रसारमा बालवालिकाको प्रयोग भएको नदेखिएको र मतदान केन्द्रहरुलाई अपांगता मैत्री बनाउने प्रयास गरिएको मुख्य निर्वाचन अधिकृत बख्रेलले बताउनुभयो ।

   

प्रमुख जिल्ला अधिकारी तथा जिल्ला सुरक्षा समितिका प्रमुख रामकृष्ण अधिकारीले निर्वाचनका लागि आवश्यक सुरक्षाका सबै तयारी पूरा भएको बताउनुभयो । मतदानस्थलको सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा नेपाली सेनालाई आवश्यकता अनुसार परिचालन गर्ने अधिकारीले बताउनुभयो ।

निर्वाचन पूर्वको अवस्था अनुगमनको क्रममा जिल्ला प्रहरी कार्यालयका प्रमखु एसपी काजीकुमार आचार्य, इन्द्रध्वज गणका गणपती अदित श्रेष्ठ, सशस्त्र प्रहरी बलका प्रमुख एसपी हरिनारायण श्रेष्ठ, अनुसन्धान कार्यालयका प्रमखु एसपी सुवास कार्की सँग समेत टोलीले निर्वाचनको तयारी बारे छलफल गरेको छ ।

अनुगमनको टोलीले चौतारा बजारमा नेपाली कांग्रेसबाट गरिएको घरदैलो कार्यक्रममा गरिएको शक्ति प्रर्दशन, बालवालिकाहरुको प्रयोग, आचार संहिता उल्लंघन गरिएको घटनाहरुको समेत अनुगमन गरेको थियो ।

अनुगमन टोलीले सम्वन्धित निकाय सँगको भेटवार्ताका क्रममा निर्वाचन शान्तिपूर्ण, निष्पक्ष तथा भयरहित बनाउन सबै निकायबीच आवश्यक समन्वय गर्नुपर्ने इन्सेक बागमती प्रदेशका संयोजक शिवप्रसाद खकुरेलले बताउनुभयो ।

  नातिबावु  धिताल