निष्पक्ष निर्वाचनका लागि आचारसंहिता पालना आवश्यक : प्रशासन

समाचार दैनिक डटकम । २०८२ फागुन १७ गते

जनकपुरधाम । धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण गैह्रेले प्रतिनिधिसभा निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र विश्वसनीय रूपमा सम्पन्न गर्न सबै सरोकारवालाको सक्रिय साथ–सहयोग अपरिहार्य रहेको बताएका छन्।

शुक्रवार जनकपुरधाममा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा आयोजित ‘लोकतन्त्रको स्थायित्वका लागि निर्वाचन र सरोकारवालाको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न र गराउन सबै पक्ष जिम्मेवार हुनुपर्नेमा जोड दिए।

सहायक प्रमुख जिल्ला अधिकारी गैह्रेले शान्ति–सुरक्षा व्यवस्था सुदृढ बनाइने र मतदातालाई सुरक्षित वातावरण सुनिश्चित गरिने जानकारी दिँदै पर्यवेक्षकहरूलाई कुनै पनि राजनीतिक दलको प्रचार–प्रसारमा संलग्न नहुन आग्रह गरे। “पर्यवेक्षकले आफ्नो परिचयपत्र स्पष्ट देखिने गरी निष्पक्ष रूपमा जिम्मेवारी निर्वाह गर्नुपर्छ,” उनले भने।

त्यसैगरी धनुषाका प्रहरी नायब उपरीक्षक (डीएसपी) गणेशबहादुर बमले निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गराउन नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग तथा निर्वाचन प्रहरी परिचालन गरिएको बताए। फागुन २० गते पूर्णिमाको दिन होली पर्व परेकाले यस वर्ष होली सभ्य र मर्यादित रूपमा मनाउन, मदिरा सेवन नगर्न र कुनै पनि अवाञ्छित गतिविधिमा संलग्न नहुन सर्वसाधारणलाई आग्रह गरे। उनले शान्ति–सुरक्षामा खलल पु¥याउने व्यक्तिहरूको विशेष निगरानी भइरहेको जानकारीसमेत दिए।

इन्सेकका अध्यक्ष विजयराज गौतमले निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गराउन सबैमा आग्रह गर्नुभयो । उहाँले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै भने ‘निर्वाचनको मूल्य उद्देश्य आचारसंहिता रहेकोले निर्वाचन आचारसंहिता पालन गर्न सबैमा आग्रह गर्नुभयो ।

राष्ट्रिय मानवअधिकार आयोगका पूर्व आयुक्त तथा इन्सेकका संस्थापक अध्यक्ष सुशील प्याकुरेलले विगतका निर्वाचन अनुभव स्मरण गर्दै आचारसंहिताको प्रभावकारी कार्यान्वयन नै निष्पक्ष निर्वाचनको आधार भएको बताए। लोकतन्त्र सुदृढ बनाउन उम्मेदवारहरू स्वयं जिम्मेवार र अनुशासित हुनुपर्ने उल्लेख गर्दै उनले ‘डम्मी उम्मेदवार’ खडा गर्ने प्रवृत्ति, अनावश्यक खर्च र आचारसंहिताविपरीत गतिविधिले निर्वाचन प्रक्रियालाई कमजोर बनाउने धारणा राखे ।

कार्यक्रममा नेपाल मानव अधिकार संगठन सर्लाही जिल्ला प्रतिनिधि रजनीकान्त झाले निर्वाचनका क्रममा आचारसंहिता उल्लङ्घनका घटना देखिएको दाबी गरे। सम्बन्धित निकायलाई जानकारी गराउँदा पनि प्रभावकारी कानुनी कारबाही नभएको भन्दै उनले चिन्ता व्यक्त गरे। उनले मतदानस्थलमा खटिएका कर्मचारी तथा मतदाता अधिकृतहरूले समेत पर्याप्त सहयोग र सुरक्षा नपाउँदा तनावको अवस्था सिर्जना हुने गरेको बताए।

यसैबीच राष्ट्रिय मानवअधिकार आयोग मधेस प्रदेश कार्यालयका प्रमुख बुद्धनारायण सहनीले निर्वाचन आचारसंहिता उल्लङ्घन भएमा सम्बन्धित निकाय मात्र नभई आम नागरिक पनि उत्तिकै जिम्मेवार हुने बताए। स्वच्छ, निष्पक्ष र मानवअधिकारमैत्री वातावरणमा निर्वाचन सम्पन्न गराउनु सबैको साझा दायित्व भएको उल्लेख गर्दै उनले आयोग निर्वाचन अवधिभर प्रभावकारी अनुगमनमा सक्रिय रहने जानकारी दिए ।

सहनीले मतदातालाई कुनै पनि प्रकारको दबाब, प्रलोभन वा दुष्प्रचार अस्वीकार गर्दै सचेत र जिम्मेवार रूपमा आफ्नो मताधिकार प्रयोग गर्न आग्रह गरे। लोकतन्त्रको सुदृढीकरणमा नागरिकको भूमिका निर्णायक हुने उनको भनाइ थियो ।

Source: https://esamachardainik.com/2026/02/28/6082/

Source: https://publicpress.com.np/2026/3792/