अन्तर्राष्ट्रिय सत्यको अधिकार दिवसको अवसरमा बर्दियामा बेपत्ता परिवार र सरोकारवाला निकायबीच अन्तरसंवाद तथा र्याली आयोजना गरिएको छ। अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र द्वन्द्वपीडित समितिको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा द्वन्द्वपीडित समितिका अध्यक्ष भागीराम थारुले द्वन्द्वकालमा बेपत्ता पारिएका व्यक्तिको सत्य सार्वजनिक हुनुपर्नेमा जोड दिए। कसले, किन र कुन उद्देश्यले बेपत्ता बनायो भन्ने जानकारी परिवारले पाउनुपर्ने बताउँदै उहाँले राज्यले न्याय दिन ढिलाइ गर्न नहुने धारणा राख्नुभयो । साथै दोषीलाई कारबाही मात्र नभई पीडित परिवारको चाहनाअनुसार परिपूरणको सुनिश्चितता गर्नुपर्ने उल्लेख गर्नुभयो ।
उनका अनुसार २०५७ देखि २०६२ सालसम्म बर्दियामा सबैभन्दा बढी व्यक्तिहरू बेपत्ता पारिएका थिए। उनले विद्यमान कानुन र आयोगमार्फत पीडितको अपेक्षा अनुसार न्याय सुनिश्चित गर्नुपर्ने बताउनुभयो ।

बेपत्ता पारिएका हुकुमबहादुर शाहीकी श्रीमती जयन्ती शाहीले कार्यक्रममा जनप्रतिनिधिहरूको अनुपस्थिति प्रति असन्तुष्टि जनाउदै पीडित परिवारको मुद्दालाई कमजोर पार्ने प्रयास भए सडक संघर्षमा उत्रिन बाध्य हुने चेतावनी दिनुभयो ।
राजनीतिक दलका नेताहरूले पनि पीडितको पक्षमा काम गर्ने प्रतिबद्धता जनाएका छन्। नेकपा एमालेका जिल्ला अध्यक्ष सालिकराम अधिकारीले बेपत्ता परिवारको योगदानलाई सम्मान गर्दै राज्यले उनीहरूको माग सम्बोधन गर्नुपर्ने बताउनुभयो । नेपाली कांग्रेसका जिल्ला सभापति अरुण प्रकाश सिंह राठोरले पीडितको मुद्दा छिटो समाधान गर्न सरकारलाई दबाब दिने बताउनुभयो । त्यस्तै, नेकपाका नेता दुर्गाबहादुर थारुले पनि बेपत्ता परिवारको मुद्दालाई गम्भीरतापूर्वक लिन आग्रह गर्नुभयो।
नेपाल रेडक्रस सोसाइटी बर्दियाका अध्यक्ष नरेन्द्र शर्माले वर्तमान सरकार पीडितको पक्षमा काम गर्न उपयुक्त अवस्थामा रहेको उल्लेख गर्दै अब ढिलाइ नगरी बेपत्ता परिवारको मुद्दा सम्बोधन गर्नुपर्ने धारणा राख्नुभयो।
कार्यक्रममा सहभागीहरूले द्वन्द्वकालीन घटनाको सत्य उजागर गर्दै पीडित परिवारलाई न्याय दिलाउन राज्य जिम्मेवार बन्नुपर्नेमा जोड दिएका थिए।
प्रकाश पौडेल
HUMAN RIGHTS NEWS PORTAL






