जयन्दु बाल सुधार गृह, बाँकेमा रहेका कानूनी विवादमा परेका बालकहरूका लागि इन्सेकको पहलमा खेलकुद सामग्री वितरण गरिएको छ।
बाल सुधार गृहबाट खेलकुद सामग्री सहयोगका लागि अनुरोध आएपछि इन्सेकले आवश्यक सामग्री उपलब्ध गराउने प्रतिबद्धता जनाएको थियो। सोही अनुसार इन्सेक नेपालगञ्जले गोपाल नीना फाउण्डेशनसँग समन्वय गरी खेलकुद सामग्री जुटाएको हो।

०८२ फागुन २३ गते आयोजित एक कार्यक्रमका बीच प्रमुख अतिथि बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी महेश कुमार गुरुङ, फाउण्डेशनका उपनिर्देशक डा. तृप्तीपाल रमण तथा इन्सेकका कार्यसमिति सदस्य अधिवक्ता विकाश आचार्यले संयुक्त रूपमा सामग्री हस्तान्तरण गर्नुभयो।
वितरण गरिएका सामग्रीमा फुटबल चार ओटा, भलिबल चार ओटा, क्रिकेट सेट दुई ओटा, ब्याडमिन्टन सेट एक, चेस आठ सेट, लुडो आठ सेट, टेबल टेनिस तीन सेट, स्किपिङ पाँच सेट तथा तौल नाप्ने मेसिन एक ओटा रहेका छन्। करिब ८० हजार रुपियाँ बराबरका सामग्री उपलब्ध गराइएको जनाइएको छ।
कार्यक्रममा बोल्दै सहायक प्रमुख जिल्ला अधिकारी गुरुङले कानूनी विवादमा परेका बालबालिकाको अधिकार संविधानले सुनिश्चित गरेको उल्लेख गर्दै शिक्षा, स्वास्थ्य र खेलकुद उनीहरूको समग्र विकासका लागि अपरिहार्य रहेको बताउनुभयो। उहाँले यस्तो सहयोगले बालकहरूको बौद्धिक, शारीरिक तथा मानसिक विकासमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो।

इन्सेकका कार्यसमिति सदस्य अधिवक्ता विकाश आचार्यले कानूनी विवादमा परेका बालबालिकाको कानुनी उपचारका लागि संस्थाले निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो। साथै, आगामी दिनमा विभिन्न संघ–संस्थासँग सहकार्य गरी यस्ता सहयोगात्मक कार्यक्रमहरूलाई निरन्तरता दिइने उहाँले बताउनुभयो।
गोपाल नीना फाउण्डेशनका सल्लाहकार तथा वरिष्ठ पत्रकार पूर्णलाल चुकेले संस्थाले सामाजिक क्षेत्रमा पुर्याउँदै आएको योगदानबारे जानकारी गराउँदै भविष्यमा पनि सहयोगलाई निरन्तरता दिने बताउनुभयो।
कार्यक्रमको अध्यक्षता जयन्दु बाल सुधार गृहका प्रमुख किशोर शर्माले गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन इन्सेक लुम्बिनी प्रदेश कार्यालयका संयोजक भोला महतले गर्नुभएको थियो।
HUMAN RIGHTS NEWS PORTAL






