पीडितको न्यायमा पहुँच र वातावरणीय प्रदूषण नियन्त्रणमा जोड

बाँके । २०८२ चैत २१ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेश कार्यालय र सार्वजनिक सरोकार कानुन व्यवसायी समूहको संयुक्त आयोजनामा सरोकारवालाहरुसँग “पीडितको न्यायमा पहुँच” विषयक छलफल कार्यक्रम ०८२ चैत २० गते नेपालगञ्जमा सम्पन्न भएको छ।

कार्यक्रममा इन्सेक लुम्बिनी प्रदेश संयोजक भोला महतले मानवअधिकार शिक्षा तथा स्वास्थ्य कार्यक्रम अन्तर्गत जानकी गाउँपालिकामा सञ्चालनमा रहेका केही उद्योग तथा कलकारखानाहरू मापदण्डविपरीत सञ्चालन हुँदा मानव तथा पशुपन्छीमा रोगको जोखिम बढेको तथा उत्पादनमा समेत नकारात्मक असर परेको विषय समुदायले उठाएको बताउनुभयो। उहाँले समस्या समाधानका लागि समुदाय, नागरिक समाज, स्थानीय तह तथा सरोकारवालाहरूले अनुगमन, नियमन र नियन्त्रणलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो।

  सार्वजनिक सरोकार कानुन व्यवसायी समूहका संयोजक वरिष्ठ अधिवक्ता सुनिलकुमार श्रेष्ठले फोहोर व्यवस्थापन र वातावरणीय जोखिम न्यूनीकरणका लागि सरोकारवालाबीच समन्वय, सहकार्य र प्रतिबद्धता आवश्यक रहेको बताउनुभयो। आवश्यक परे कानुनी प्रक्रियामार्फत अदालतसम्म जान सकिने उल्लेख गर्दै उहाँले सरसफाइलाई संस्कारसँग जोड्न आग्रह गर्नुभयो।

कार्यक्रममा इन्सेक कार्यसमिति सदस्य अधिवक्ता विकास आचार्यले समुदायले उठाएका वातावरणीय प्रदूषण र फोहोर व्यवस्थापनसम्बन्धी मुद्दाहरूलाई स्थानीय तहमार्फत प्रभावकारी रूपमा कार्यान्वयन गराउन सकिने बताउनुभयो। उहाँले पालिकाले बनाएका नीति, ऐन र कानुनको अध्ययन गरी सम्बन्धित पक्षहरूले सहकार्यका साथ कानुनी रूपमा अघि बढ्नुपर्नेमा जोड दिनुभयो।

   

सामाजिक विकास संयोजक तथा कार्यपालिका सदस्य रामअचल धोवीले वातावरणीय प्रदूषण र फोहोर व्यवस्थापनको अभावले मानव तथा पशुपन्छीको स्वास्थ्यमा प्रतिकूल असर परेको बताउनुभयो। स्वास्थ्य शाखाकी उपसंयोजक प्रतिनिधि पार्वती सोमईले खुला दिसामुक्त घोषणा भए पनि प्रभावकारी कार्यान्वयन नहुँदा रोगीको संख्या बढ्दै गएको बताउनुभयो।

अधिवक्ता मधुर पाठकले सचेतनाको अभावका कारण फोहोर व्यवस्थापनमा समस्या रहेको उल्लेख गर्दै स्थानीय तह सञ्चालन ऐन, २०७४ ले फोहोर व्यवस्थापनका लागि स्पष्ट व्यवस्था गरेको भए पनि कार्यान्वयनमा कमजोरी रहेको बताउनुभयो। उहाँले उपलब्ध स्रोत र बजेटको प्रभावकारी उपयोग गर्दै अनुगमन र नियन्त्रणलाई सुदृढ बनाउनुपर्नेमा जोड दिनुभयो।

जानकी गाउँपालिकाका मानवअधिकार समूहका अध्यक्ष मोहम्मद जाहिर शेषले उद्योगहरूको अनुगमन हुँदा केही समयका लागि मात्र गतिविधि रोकिने तर पछि पुनः यथावत् सञ्चालन हुने गरेको गुनासो गर्नुभयो। कुलो तथा नालामा फोहोर पानी फालिँदा प्रदूषण फैलिएको, उत्पादन घटेको तथा मानिस र पशुमा विभिन्न रोग देखापरेको उहाँले बताउनुभयो। विद्यालय नजिकै फोहोर पानी बग्दा समस्या झन् जटिल बनेको उल्लेख गर्दै स्थानीय तहसँग समन्वय भए पनि प्रभावकारी नियन्त्रण हुन नसकेको उहाँको भनाइ थियो।

सुन्दर विहानी युवा क्लबका अध्यक्ष गणेश थापाले विगत तीन वर्षदेखि समुदायमा सचेतना कार्यक्रम सञ्चालन गरिँदै आए पनि फोहोर व्यवस्थापनमा सुधार हुन नसकेको बताउनुभयो। डम्पिङ साइटको अभावमा फोहोर खुला रूपमा फालिने क्रम जारी रहेको उल्लेख गर्दै स्थानीय तहले कडा नियम बनाइ प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो। क्लबका फिल्ड कर्मचारी धनसरा वलीले पनि अनुगमन, नियमन र नियन्त्रणलाई कानुनी प्रक्रिया अनुसार कडाइका साथ लागू गर्न सके मात्र समस्या समाधान सम्भव हुने धारणा राख्नुभयो।

कार्यक्रममा सहभागीहरूले मधेशी समुदायको बहुलता रहेको क्षेत्रमा सञ्चालित विभिन्न उद्योग तथा डिस्टिलरीबाट निस्कने दुर्गन्धयुक्त फोहोर पानी सिधै नालामा फालिँदा वातावरणीय प्रदूषण बढेको र जानकी गाउँपालिका वडा नं. ६ मा श्वासप्रश्वास, दम, क्यान्सर तथा छाला रोगका बिरामीको संख्या बढ्दै गएको बताएका थिए। कानुन बने पनि कार्यान्वयन कमजोर रहेको उनीहरूको भनाइ थियो।

ध्रुबराज शर्मा