कानुनी प्रकृयामा जानका लागि इन्सेकको सहयोग

सर्लाही । २०८३ बैशाख ४ गते

डिसीएको आर्थिक सहयोगमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेश प्रदेश कार्यालयले ०८३ वैशाख ३ गते बलात्कार प्रयास घटनाकी पीडित २५ वर्षीया महिलालाई १० हजार रुपियाँ आर्थिक सहयोग प्रदान गरेको छ ।

पीडित गरीब तथा विपन्न परिवारको भएको हुँदा कानुनी प्रक्रियामा जानका लागि सहयोग पुग्ने उदेश्यले इन्सेक मधेस प्रदेश अन्तरगत गठित मानव अधिकार सहायता कक्ष मार्फत उक्त रकम प्रदान गरेको इन्सेक सर्लाही प्रतिनिधि बुधन साहले बताउनु भयो ।

हरिपुर नगरपालिका–७ चिताईनका २८ वर्षीय रामचन्द्र चौधरीले ०८२ मङ्सिर २२ गते बलात्कार प्रयास गरेको भन्दै पीडितले इलाका प्रहरी कार्यालय हरिपुरमा पुस ७ गते उजुरी दिनु भएको थियो ।

पीडित महिलाको स्वास्थ्य परीक्षण पुस ८ गते जिल्ला अस्पताल मलंगवामा भएको थियो । आरोपित चौधरी हालसम्म फरार रहेकोले खोजतलास गरिरहेको जिल्ला प्रहरी कार्यालय मलंगवाका डिएसपी सरोज राईले जानकारी दिनु भयो ।

बुधन साह