आर्थिक अवस्था कमजोर भएकी पीडित पर्सागढी–३ की २५ वर्षीया हरिकला सहनीलाई कानूनी प्रक्रियामा जान तथा उपचारमा सहयोग हुने उदेश्यले अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेशद्वारा १० हजार रुपियाँ आर्थिक सहयोग प्रदान गरिएको छ । विदेश जानका लागि आफ्नो बुवासँग पैसा माग भन्दै झगडा गर्दै आएका पति विश्वनाथ सहनीले २०८२ चैत १ गते हरिकलाको बाँया खुट्टा अचानोमा राखी काटिदिएका थिए । सोही दिनदेखि पर्साको सदरमुकाम वीरगन्जसँगै जोडिएको बाराको परवानीपुर– ५ स्थित एलएस न्यूरो हस्पिटलमा पीडितको उपचार भइरहेको छ । इन्सेक पर्साका प्रतिनिधि तुलसी भण्डारीले अस्पतालमै पुगी पीडित हरिकलालाई उक्त रकम हस्तान्तरण गर्नु भएको हो । सो अवसरमा नेपाल पत्रकार महासंघ पर्साका पूर्व उपाध्यक्ष युवराज खड्का, संचारकर्मी सूर्य नारायण विक, एल एस न्यूरो हस्पिटल प्रशासन प्रमुख विनोद पटेल लगायतको उपस्थिति रहेको थियो ।
आरोपित विश्वनाथलाई चैत १४ गते प्रहरीले गिरफ्तार गरी कानुनी प्रक्रिया अघि बढाएको डिएसपी हरिबहादुर बस्नेतले जानकारी दिनु भएको छ ।
HUMAN RIGHTS NEWS PORTAL






