सुकुम्बासी विस्थापनमा इन्सेकको आपत्ति

समाचार दैनिक डटकम । २०८३ बैशाख १५ गते

जनकपुरधाम । काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट सुकुम्बासी बस्ती हटाएर होल्डिङ सेन्टरमा राखिएका नागरिकप्रति मानवोचित व्यवहार गर्न इन्सेक ले सरकारसँग आग्रह गरेको छ ।

इन्सेकका अध्यक्ष विजयराज गौतम द्वारा हस्ताक्षरित विज्ञप्तिमा होल्डिङ सेन्टरमा गरिएको अनुगमनका क्रममा बसोबास, सरसफाइ, स्वास्थ्य सेवा, सफा खानेपानी तथा पर्याप्त खानाको अभाव देखिएको उल्लेख गरिएको छ ।

विज्ञप्तिमा बलपूर्वक विस्थापनका कारण प्रभावित समुदायको आवासको अधिकार, रोजगारी तथा जीविकोपार्जनको स्रोत, बालबालिकाको शिक्षा र स्वास्थ्य सेवामा पहुँचमा प्रत्यक्ष असर परेको जनाइएको छ । घर तथा आश्रय गुमाउनु केवल भौतिक क्षति मात्र नभई व्यक्तिको सामाजिक सञ्जाल, सुरक्षा भावना र मानवीय गरिमामा समेत गहिरो चोट पुगेको इन्सेकले जनाएको छ ।

मानवअधिकारकर्मी तथा सरोकारवालाले सुकुम्बासी बस्ती हटाउने कार्यले मानव अधिकार, सामाजिक न्याय र समावेशी विकासका आधारभूत मान्यतामाथि गम्भीर प्रश्न उठाएको बताएका छन् । उनीहरूले नेपालको संविधान तथा आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धिअन्तर्गत आवास, स्वास्थ्य, शिक्षा, रोजगारी तथा सम्मानजनक जीवनस्तरको अधिकार सुनिश्चित गरिएको उल्लेख गर्दै बलपूर्वक विस्थापन अन्तर्राष्ट्रिय प्रतिबद्धताविपरीत हुने बताएका छन् ।

इन्सेकले सरकारसँग बलपूर्वक विस्थापन रोक्न, प्रभावित समुदायसँग समावेशी र समाधानमुखी संवाद गर्न तथा विस्थापित परिवारको सुरक्षित, सम्मानजनक र दिगो पुनस्र्थापना सुनिश्चित गर्न माग गरेको छ । साथै वैकल्पिक आवास, जीविकोपार्जनका अवसर र आधारभूत सेवामा पहुँचको व्यवस्था गर्नुपर्नेमा जोड दिएको छ ।

विज्ञप्तिमार्फत सुकुम्बासी समस्याको दीर्घकालीन र न्यायोचित समाधानका लागि स्पष्ट नीति, कानुनी आधार र संस्थागत संयन्त्र विकास गर्न सरकारको ध्यानाकर्षण गराइएको छ । साथै ज्येष्ठ नागरिक, महिला, बालबालिका, अपाङ्गता भएका व्यक्ति तथा अन्य सीमान्तकृत समुदायको अधिकार, सुरक्षा र विशेष आवश्यकतालाई प्राथमिकतामा राख्न आग्रह गरिएको छ ।

Source: https://shorturl.at/CqRXG

Source: https://shorturl.at/g4fc4

Source: https://shirishnews.com/2026/04/28/89724/