मानवअधिकारमैत्री व्यवहारको माग

समाचार दैनिक डटकम । २०८३ वैशाख २९ गते

जनकपुरधाम । मधेस प्रदेशस्तरीय मानवअधिकार रक्षक सञ्जालको बैठक जनकपुरधाममा सम्पन्न भएको छ । बैठकले सरकारद्वारा अतिक्रमित जग्गा तथा त्यसमाथि निर्माण गरिएका भौतिक संरचना खाली गराउने क्रममा भइरहेका गतिविधिलाई अमानवीय ठहर गर्दै मानवअधिकारमैत्री व्यवहार अपनाउन सरकारसँग माग गरेको छ ।

सञ्जालका अध्यक्ष राजकुमार महासेठको अध्यक्षतामा सम्पन्न बैठकले नागरिकको सुरक्षा, व्यवस्थापन तथा पुनःस्थापनाको जिम्मेवारी सरकारकै भएको उल्लेख गर्दै बलपूर्वक हटाउने कार्य मानवोचित दृष्टिकोणअनुसार उपयुक्त नभएको निष्कर्ष निकालेको हो ।

बैठकमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश संयोजक राजु पासवानले मानवअधिकार रक्षकहरू समुदायसँग अझ प्रभावकारी रूपमा जोडिनुपर्ने आवश्यकता औंल्याउनुभयो । उहाँले पछिल्लो समय मधेस प्रदेशमा हिंसा, विभेद तथा मानवअधिकार उल्लङ्घनका घटना बढ्दै गएको भन्दै त्यसको नियन्त्रणका लागि सञ्जालबीच समन्वय र सक्रियता अपरिहार्य रहेको बताउनुभयो ।

उहाँले मानवअधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामा सञ्जालले निरन्तर खबरदारी, अनुगमन र पैरवी गर्दै आएको उल्लेख गर्दै पीडितलाई न्याय दिलाउन सबै पक्ष एकजुट हुनुपर्ने धारणा राख्नुभयो ।

बैठकले सञ्जालका सदस्य तथा इन्सेक सर्लाही प्रतिनिधि बुधन शाहमाथि वैशाख २३ गते प्रादेशिक अस्पताल मलङ्गवामा कार्यरत चिकित्सकहरूबाट भएको दुव्र्यवहारको घटनाको शीघ्र अनुगमन गर्ने निर्णय गरेको छ । त्यसैगरी, मधेस प्रदेशमा तथ्याङ्कीय रूपमा हिंसाका घटना बढ्दै गएको निष्कर्ष निकाल्दै प्रदेशका आठवटै जिल्लामा अनुगमनलाई प्रभावकारी बनाउने, कानुनी प्रक्रिया तथा पैरवीलाई सशक्त बनाउने निर्णय गरिएको छ ।

बैठकमा सहभागी मानवअधिकारकर्मीहरूले हिंसाका घटनाको न्यूनीकरणका लागि सरोकारवाला निकायसँग समन्वय गर्दै सक्रिय अनुगमन आवश्यक रहेकोमा जोड दिएका थिए । आवश्यक परे कानुनी प्रक्रियामार्फत मुद्दासमेत दायर गर्ने सहमति बैठकले गरेको छ ।

Source: https://shorturl.at/5bBz1