बनेपाको अस्थायी शिविरमा उठेको प्रश्नः मान्छे होइनन् ‘सुकुम्बासी’ ?’

मदनी बिट डटकम २०८३ जेठ ४ गते

बनेपास्थित नेपाल रेडक्रस सोसाइटीको तालिम केन्द्रमा यतिखेर सुकुम्बासीहरुको अस्थायी बासस्थान बनेको छ । देशभरका रेडक्रसकर्मी तालिम लिने केन्द्रमा अहिले सुकुम्बासी नागरिकहरुको खचाखच छ । ६० जनाको क्षमता भएको तालिम केन्द्रमा १ सय १० जना सुकुम्बासीहरू बसिरहेका छन् । रेडक्रस सम्वन्धि तालिमहरु पनि अनिश्चित भएका छन् । बाहिरबाट हेर्दा भवन शान्त देखिन्छ, तर भित्र पस्ने बित्तिकै अनेक चिन्ता, थकान र अन्योलले भरिएका अनुहार भेटिन्छन् । त्यही भीडको एक कुनामा बसेकी छन् मनिषा यादव । दुई साना बच्चा उनको वरिपरि खेलिरहेका छन् । उनी भने टोलाएर छततिर हेर्छिन् । केही बेरपछि विस्तारै बोल्न थाल्छिन–‘मान्छे होइनन् सुकुम्बासी ?’ उनको यो प्रश्न रिसभन्दा बढी पीडाले भरिएको छ । मनिषाको जीवनमा विपत्ति नयाँ होइन । २०५० सालको बाढी पहिरोले रौतहटको गढीमाई नगरपालिका–६ मा रहेको परिवार तहसनहस बनायो । परिवारका पाँच सदस्य बगे । बाँचेका ससुरा र उनका श्रीमान् रमेश यादव त्यसपछि काठमाडौं आए । काठमाडौं उनीहरूका लागि सपनाको शहर थिएन, बाँच्ने अन्तिम विकल्प थियो । आफन्तले काम पाइन्छ भनेपछि उनीहरू थापाथलीको खोला किनारमा आइपुगे । बागमतीको छेउमा बनाइएको सानो टहरो नै घर बन्यो । मनिषा त्यहीँ भित्र सानो किराना पसल चलाउँथिन् ।

      

श्रीमान् बिहानै निस्केर मार्केटिङको काम गर्थे । ससुरा पनि दिनभर काम खोज्दै हिंड्थे । धेरै थिएन, तर जीवन चलिरहेको थियो । सबैभन्दा ठूलो खुसी थियो, बच्चाहरू विद्यालय जान थालेका थिए । ६ वर्ष र ४ वर्षका दुई सन्तान विश्व निकेतन विद्यालयमा पढ्थे । ‘हामी दुःख गरिरहेका थियौं’– मनिषा भन्छिन् –‘तर बच्चाहरू पढ्दैछन् भन्नेमा खुसी थियौं ।’ तर त्यो खुसी धेरै टिकेन । बैशाख ९ गते बिहान प्रहरी भ्यानहरू बस्तीमा पसे । घर–घर खानतलासी भयो । ओछ्यान, तन्ना, बाकस सबै पल्टाइयो । ‘जेनजी आन्दोलनमा लुटिएका हतियार र भागेका कैदी खोज्दै आएका रे’– उनी सम्झिन्छिन्– ‘हाम्रो बस्ती पूरै खोजे ।’ त्यतिबेला बस्ती नहट्ने आश्वासन दिइएको थियो । तर भोलिपल्ट माइकिन्ग भयो, बस्ती खाली गर्नू भनेर । त्यसपछि सुरु भयो अर्को दौडधुप, कोठा खोज्ने । मनिषा बच्चा च्यापेर काठमाडौंभर डेरा खोज्दै हिंडिन् । सुरुमा धेरै घरबेटी तयार हुन्थे । तर थापाथलीको सुकुम्बासी भन्ने थाहा पाएपछि अनुहार फेरिन्थ्यो । ‘पहिला हुन्छ भन्थे’ – उनी भन्छिन् –‘पछि थाहा पाएपछि दिन मानेनन् ।’ त्यहीँबाट जन्मिएको थियो उनको त्यो प्रश्न–‘सुकुम्बासी पनि मान्छे होइनन् र ?’ बैशाख १२ गते बिहान डोजर आयो । मनिषाले किराना पसल त्यत्तिकै छाडिन् । बच्चाहरूलाई समातेर बाहिर निस्किइन् । ‘आफ्नै घरमाथि डोजर चलेको हेर्न सकिनँ’– उनी भन्छिन्–‘छातीमै पहार हानेजस्तो भयो ।’ त्यो टहरो कानुनी रूपमा उनको नाममा थिएन होला, तर त्यहीँ उनका वर्षौंका सपना थिए । त्यहीँ बच्चाहरूको कापी किताब थियो । त्यहीँ पसलको उधारो थियो । त्यहीँ भविष्य जोड्ने प्रयास थियो । बस्ती हटेपछि उनीहरूलाई पहिले बालाजु लगियो। त्यसपछि बनेपाको रेडक्रस तालिम केन्द्रमा सारियो । अहिले उनीहरू त्यहीँ छन् । खाना पाइन्छ । बस्न ठाउँ पनि छ । तर जीवन रोकिएको छ । उनका श्रीमान् अहिले पनि बिहान ४ बजे उठेर काठमाडौं पुग्छन्। दैनिक २५० रुपैयाँ गाडीभाडा तिर्नुपर्छ । कमाएको धेरै बाटोमै सकिन्छ । ससुरालाई नियमित औषधि चाहिन्छ । तर अहिले औषधि किन्ने पैसा छैन। अस्पताल जान सकिने अवस्था छैन । सबैभन्दा ठूलो पीडा भने बच्चाहरूको पढाइ रोकिएको हो । ‘कुन स्कुलमा पढाउने ?” उनी सोध्छिन् – ‘पोशाक छैन, किताब छैन, पैसा छैन ।’ सरकारले दिने भनिएको १५ हजार रुपैयाँको चर्चा उनले पनि सुनेकी छन् । तर त्यो रकमले जीवनको कुन घाउ पुरिन्छ ? डेरा भाडा तिर्ने ? खाना किन्ने ? औषधि ल्याउने ? कि बच्चाहरूलाई फेरि विद्यालय पठाउने ? बनेपाको त्यो हलमा बसिरहेकी मनिषा अहिले राहतभन्दा निर्णय चाहन्छिन् । किनभने अस्थायी बासमा जीवन धेरै दिन अडिँदैन । साँझ पर्दै जाँदा उनका बच्चाहरू खेल्न छोडेर आमाको काखमा आउँछन् । मनिषा उनीहरूलाई अँगालो हाल्छिन् । सायद उनलाई अहिले संसारमा सबैभन्दा बढी डर यही छ, गरिबीले बच्चाहरूको भविष्य पनि नबगाओस्, जसरी कुनै समय बाढीले उनको परिवार बगाएको थियो ।