सिरहा घटनाको मानव अधिकार आयोग र इन्सेकको संयुक्त अनुगमन
न्यूज टाइम्स डटकम । २०८३ जेठ २ गते
सिरहा । राष्ट्रिय मानव अधिकार आयोग मधेस प्रदेश कार्यालय र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश कार्यालय र मानव अधिकार संरक्षण केन्द्र संजाल सिरहाले औरही गाउँपालिका–३ का ३१ वर्षीय बिरेन्द्र साहलाई वडा अध्यक्ष जिवछ यादवले रुखमा बाधेर कुटपिट तथा दुर्व्यवहार गरेका घटनाको स्थलगत अध्ययन तथा अनुगमन गरेको छ ।
राष्ट्रिय मानव अधिकार आयोग मधेस प्रदेश प्रमुख बुद्धनारायण साहनी, मानव अधिकार अधिकृत किरण घिमिरे, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश प्रमुख राजु पासवान, इन्सेक प्रतिनिधि दुर्गा परियार र मानव अधिकार संरक्षण केन्द्र संजाल सिरहाका अध्यक्ष देवकुमारी महराको संयुक्त टोलीले उक्त घटनाको ०८३ वैशाख ३० र ३१ गते स्थलगत अध्ययन तथा अनुगमन गरेको हो ।
अनुगमनको क्रममा टोलीले बिरेन्द्र साहसँग भेट गरी घटनाको जानकारी लिएको हो । पीडित साहका अनुसार वडा अध्यक्ष जिवछ यादवले नियतबस कुनै सहमती नगरी आफ्नो निजि जग्गाबाट बाटो निकाल्न जेसीबी सहित आफ्ना मान्छेहरु परिचालन गर्दै पर्खालहरु भत्काउन लाग्दा मैले विरोध गरेपछि हात रुखमा बाँधेको बताउँदै आफूले दिएको जग्गाबाट बाटो नलगी वडाध्यक्षले मनोमानी तरिकाले म लगायत त्यहाँ रहेका अन्य व्यक्तिहरुको जग्गामा रहेको पर्खाल भत्काएको बताउनु भयो ।
प्रतिकार गर्नेहरुलाई घरमा थुनेर बन्द गरेर गालिगलौज गर्दै कुटपिट तथा दुर्व्यवहार गरेको साहले आरोप लगाउनुभयो । वडाध्यक्षविरुद्ध वैशाख २९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको साहले अनुगमन टोलीलाई जानकारी गराउनु भयो । वडा कार्यालय, गाउँपालिका कार्यालयमा पनि टोलीले अनुगमन गरी घटनाबारे जानकारी लिएको थियो ।
त्यसैगरी जिल्ला प्रशासन कार्यालय सिरहाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, जिल्ला प्रहरी कार्यालयका एसपी बासुदेव पाठकसंग पनि घटनाबारे जानकारी लिएको इन्सेकका प्रदेश संयोजक राजु पासवानले बताउनु भयो । पीडितले दिएको उजुरीको आधारमा अदालतबाट पक्राउ अनुमती लिए पनि आरोपित फरार रहेकोले खोज तलास भइरहेको जिल्ला प्रहरी कार्यालयका एसपी बासुदेव पाठकले बताउनु भयो ।
Source: https://shorturl.at/0uRCg
HUMAN RIGHTS NEWS PORTAL






