फोहोर व्यवस्थापन प्रति मानव अधिकार रक्षक समूहद्वारा गौरीगंगालाई ध्यानाकर्षण

कैलाली खबर डटकम । २०८३ जेठ २४ गते

धनगढी । मानव अधिकार रक्षक समूह, सुदूरपश्चिम प्रदेशले कैलालीको गौरीगंगा नगरपालिकाभित्र सञ्चालन भइरहेको फोहोर व्यवस्थापन स्थलको अवस्थाप्रति गम्भीर ध्यानाकर्षण गराएको छ।

समूहले नगर प्रमुख देवीदत्त कडेललाई सम्बोधन गर्दै पठाएको ध्यानाकर्षण पत्रमा गौरीगंगा–४ र ८ स्थित गौरी गणेश तथा हरियाली बस्ती नजिकको सामुदायिक वन क्षेत्रमा रहेको फोहोर विसर्जन स्थल ९डम्पिङ साइट० अव्यवस्थित रूपमा सञ्चालन हुँदा स्थानीय बासिन्दाको स्वास्थ्य तथा स्वच्छ वातावरणमा नकारात्मक प्रभाव परेको उल्लेख गरेको छ।

स्थानीयवासीबाट प्राप्त गुनासोका आधारमा गरिएको स्थलगत अध्ययनका क्रममा डम्पिङ साइट खुला रूपमा प्रयोग गरिएको, फोहोरको उचित छटनी तथा प्रशोधन नगरिएको, प्लास्टिकजन्य फोहोरले पशुचौपाया र वन्यजन्तुलाई जोखिममा पारेको तथा मुख्य राजमार्ग नजिकै जैविक फोहोरसमेत अव्यवस्थित रूपमा फालिँदा दुर्गन्ध फैलिएको पाइएको समूहले जनाएको छ। यसले स्थानीय बासिन्दाको स्वास्थ्यमा प्रतिकूल असर पार्ने सम्भावना रहेको पनि समूहको ठहर छ।

त्यस्तै, प्लास्टिकजन्य फोहोरका कारण नजिकका रुखहरू समेत सुक्दै गएको अवलोकनमा पाइएको जनाइएको छ। नेपालको संविधान २०७२ को धारा ३० ले प्रत्येक नागरिकलाई स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने मौलिक हक सुनिश्चित गरेको स्मरण गराउँदै समूहले फोहोर व्यवस्थापन स्थलको तत्काल सुधार, व्यवस्थित सञ्चालन तथा नागरिकको वातावरणीय अधिकारको संरक्षण गर्न नगरपालिकासँग आग्रह गरेको छ।

मानव अधिकार रक्षक समूहका अध्यक्ष देवीप्रसाद खनाल र सचिव पुष्प विक्रम शाहीद्वारा हस्ताक्षरित पत्रमा वातावरणीय प्रदूषण नियन्त्रण तथा दिगो फोहोर व्यवस्थापनका लागि आवश्यक पहल गर्न गौरीगंगा नगरपालिकासँग माग गरिएको छ।

Source: https://www.kailalikhabar.com/detail/15464