मानव अधिकारमैत्री शासनका लागि नेतृत्व विकास तालिम सुरु

समाचार विचार डटकम । २०८३ जेठ ३ गते

काठमाडौं । इन्सेक बागमती प्रदेश कार्यालयको आयोजना तथा नागार्जुन नगरपालिकाको सहकार्यमा नागार्जुन नगरपालिका–१० मा “मानव अधिकार सम्बन्धी नेतृत्व विकास तालिम” मंगलबारदेखि सुरु भएको छ।

असार ५ गतेसम्म सञ्चालन हुने तालिमको उद्घाटन कार्यक्रममा मानव अधिकार संरक्षणमा स्थानीय तहको भूमिका, मानव अधिकारमैत्री शासन व्यवस्था तथा स्थानीय सरकारको उत्तरदायित्वका विषयमा छलफल गरिएको थियो।

कार्यक्रममा नागार्जुन नगरपालिकाकी कार्यवाहक प्रमुख सुशीला अधिकारीले नगरपालिकाका नीति तथा कार्यक्रमलाई थप मानव अधिकारमैत्री बनाउन इन्सेकसँगको समन्वय आवश्यक रहेको बताइन्। उनले नगरपालिकामा गठित मानव अधिकार समूहसँग सहकार्य गर्दै मानव अधिकार प्रवर्द्धनका अभियान सञ्चालन गर्न आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन्।

मानव अधिकारका सूचकहरू पूरा गर्दै नगरपालिकालाई मानव अधिकार सूचकाङ्कमा अग्रस्थानमा राख्ने लक्ष्य रहेको उल्लेख गर्दै उनले देशभरका स्थानीय तहसँग सहकार्य गरी मानव अधिकार अभियानलाई प्रभावकारी रूपमा अगाडि बढाउन इन्सेकलाई आग्रह गरिन्। साथै, समाजमा बढ्दो अराजक प्रवृत्तिलाई न्यूनीकरण गर्न मानव अधिकारसम्बन्धी सचेतना अभिवृद्धिका लागि दक्ष जनशक्ति आवश्यक रहेको उनको भनाइ थियो।

इन्सेकका सूचना अधिकारी कृष्ण गौतमले मानव अधिकारको संरक्षण र प्रवर्द्धनका लागि इन्सेकले निरन्तर काम गर्दै आएको बताए। द्वन्द्वकालीन मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाको अभिलेखीकरण, पीडितलाई कानुनी सहायता, परामर्श तथा पुनःस्थापनामा सहयोग गर्दै न्याय र शान्ति स्थापनामा इन्सेकले महत्वपूर्ण भूमिका निर्वाह गरेको उनले बताए।

राष्ट्रिय मानव अधिकार आयोगका सहसचिव यज्ञप्रसाद अधिकारीले स्थानीय सरकारले गरेका सकारात्मक कार्यहरूलाई विश्वव्यापी आवधिक समीक्षा (UPR) अन्तर्गत राज्यले तयार गर्ने प्रतिवेदनमार्फत अन्तर्राष्ट्रिय स्तरसम्म पुर्‍याउन सकिने बताए। उनले देशका ७५३ वटै स्थानीय तहले मानव अधिकारसम्बन्धी राष्ट्रिय कार्ययोजनाको प्रभावकारी कार्यान्वयन गर्न सके मानव अधिकारको वास्तविक आन्तरिकीकरण सम्भव हुने धारणा राखे।

नागार्जुन नगरपालिका–१० का वडाध्यक्षले मानव अधिकार प्रवर्द्धनका लागि स्थानीय सरकार इन्सेकसँग सहकार्य गर्न प्रतिबद्ध रहेको बताउँदै समुदायस्तरमा देखिएका मानव अधिकार उल्लङ्घनका घटनाको पहिचान र समाधानमा मेलमिलापकर्ताको भूमिका महत्वपूर्ण हुने उल्लेख गरे।

इन्सेक बागमती प्रदेश संयोजक शिव खकुरेलले इन्सेकले विगत तीन दशकदेखि नागरिक तथा राजनीतिक अधिकारसँगै आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारका क्षेत्रमा काम गर्दै आएको जानकारी दिए। मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाको अभिलेखीकरण, मानव अधिकार वर्षपुस्तक प्रकाशन, मानव अधिकार शिक्षा तथा पैरवी कार्यक्रममार्फत राज्यलाई जवाफदेही बनाउन सहयोग पुगेको उनले बताए।

तालिममा नागार्जुन नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी, न्यायिक समितिका सदस्य, सामाजिक अभियन्ता, विद्यार्थी तथा विभिन्न समूह र समितिका पदाधिकारी तथा सदस्यहरूको सहभागिता रहेको छ।

तालिमको पहिलो दिन राष्ट्रिय मानव अधिकार आयोगका सहसचिव यज्ञप्रसाद अधिकारीले मानव अधिकारको अवधारणा, शिक्षाको अधिकार र स्थानीय सरकारको भूमिकाबारे प्रस्तुतीकरण दिएका थिए। त्यसैगरी राष्ट्रिय महिला मानव अधिकार रक्षक सञ्जालले महिला अधिकार र संरक्षणका विषयमा, शक्ति समूहकी निर्देशक चरीमाया तामाङले मानव बेचबिखनको अवस्था तथा रोकथाममा राज्यको दायित्वबारे, तथा सिविन नेपालका माधव लोहनीले बालअधिकार र अनलाइन दुर्व्यवहारका विषयमा सहजीकरण गरेका थिए।

Source: https://samacharbichar.com/news/10548/