हिंसा पीडित महिलालाई इन्सेकको आर्थिक सहयोग, न्यायिक लडाइँमा थप टेवा पुग्नमा मद्दत

तराई टप डटकम । २०८३ असार ४ गते

रौतहट । रौतहटको चन्द्रपुर नगरपालिकाकी एक हिंसा पीडित महिलालाई न्याय प्राप्तिको प्रक्रियामा सहयोग पुगुन भन्ने उद्देश्यका साथ इन्सेक मधेश प्रदेश कार्यालय, जनकपुरले आर्थिक सहायता उपलब्ध गराएका छन् ।

चन्द्रपुर नगरपालिका–३ का ३२ वर्षीया पीडित महिलालाई इन्सेकको मानव अधिकार सहायता कक्षमार्फत १० हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरिएको इन्सेक रौतहट प्रतिनिधि गौरी न्यौपानेले जानकारी दिएकी हुन् ।

चन्द्रपुर नगरपालिका–३ को सिफारिस तथा पीडित महिलाले गत वैशाख २३ गते दिएको निवेदनका आधारमा उक्त सहयोग उपलब्ध गराइएको हो । पीडितले आफ्ना पति भूमबहादुर वाइवा विरुद्ध जिल्ला अदालत रौतहटमा २०८२ चैत १ गते सम्बन्ध विच्छेदको मुद्दा दर्ता गराएकी छन् । उक्त मुद्दा हाल अदालतमा विचाराधीन रहेको जनाइए ।

आर्थिक अभावका कारण अदालतमा नियमित उपस्थित हुन, कानुनी प्रक्रिया अघि बढाउन तथा आवश्यक खर्च व्यवस्थापन गर्न कठिनाइ भइरहेको भन्दै पीडितले इन्सेकसँग सहयोगको आग्रह गरेकी थिइन् । सोही अनुरोधलाई आधार मानी इन्सेक मधेश प्रदेश कार्यालयले आर्थिक सहायता उपलब्ध गराएको जनाए ।
पीडिताको अनुसार २०८२ फागुन ११ गते उनका पतिबाट भएको कुटपिटका कारण टाउकोमा गम्भीर चोट लागेको थियो । उपचारपछि घर फर्किए पनि हालसम्म नियमित औषधि सेवन गरिरहनुपरेको उनले बताइन् । प्राप्त आर्थिक सहयोगले अदालतमा आउजाउ गर्न, कानुनी प्रक्रियालाई निरन्तरता दिन तथा न्यायका लागि जारी संघर्षलाई सहज बनाउने विश्वास व्यक्त गर्दै पीडितले इन्सेकप्रति आभार व्यक्त गरेकी छन् ।

इन्सेकले मानव अधिकार उल्लंघन तथा हिंसाबाट प्रभावित व्यक्तिहरूलाई आवश्यक कानुनी, मनोसामाजिक तथा आर्थिक सहयोग उपलब्ध गराउँदै आएको जनाए ।

Source: https://shorturl.at/uJTaM