दूरपश्चिमको स्वास्थ्य सेवा सुधारको बाटोमा, विशेषज्ञ जनशक्तिको अझै खाँचो

अग्रलेख डटकम । २०८३ असार १४ गते

धनगढी । सुदूरपश्चिमको स्वास्थ्य सेवामा पछिल्ला वर्षहरूमा सुधार भए पनि जनशक्ति र व्यवस्थापन अझै प्रमुख चुनौतीका रूपमा रहेको सरोकारवालाले बताएका छन् । अग्रलेख मल्टिमिडियाको आयोजनामा कैलालीको धनगढीमा भएको ‘स्वास्थ्य सेवामा जनअपेक्षा : सुदूरपश्चिमको यथार्थ र सुधारको बाटो’ विषयक कार्यक्रममाका वक्ताहरुले यस्तो बताएका हुन् । 

छलफलमा सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखाका प्रमुख डा. निरज अर्यालले विगतमा जिल्ला अस्पतालमा मुस्किलले मेडिकल अधिकृतले मात्रै सेवा दिने अवस्था रहे पनि अहिले प्रदेश लोकसेवा आयोगमार्फत जनशक्ति व्यवस्थापन गरिएकाले अधिकांश जिल्ला अस्पतालमै विशेषज्ञ सेवा उपलब्ध भइरहेको बताए। ‘अहिले प्रदेश लोकसेवाबाट पनि जनशक्ति व्यवस्थापन गरिएको छ,’ उनले भने, ‘जिल्ला अस्पतालमै विशेषज्ञ सेवा दिइरहेका छौं।’ 

प्रदेश सरकार मातहतका अस्पताललाई क्रमशः स्तरोन्नति गर्दै दक्ष जनशक्ति थप्ने नीति रहेको उनले बताए। स्वास्थ्य सेवामा सुधार भए पनि दुर्गम क्षेत्रमा नागरिकको पहुँच अस्पतालसम्म कमजोर रहेकाले तथ्यांकमा अपेक्षित सुधार देखिन नसकेको उनको भनाइ थियो। ‘विगतको तुलनामा स्वास्थ्य सेवामा धेरै सुधार भएको छ,’ उनले भने।

अफिन सुदूरपश्चिमका अध्यक्ष तथा निसर्ग अस्पताल एन्ड रिसर्च सेन्टरका अध्यक्ष तीर्थराज पन्तले सरकारी स्वास्थ्य सेवा प्रभावकारी नभएकै कारण प्रदेशमा निजी क्षेत्र विस्तार भएको बताए। पछिल्लो १० वर्षमा सरकारी सेवामा पनि उल्लेखनीय सुधार आएको उनको भनाई थियो । निजी क्षेत्रले सेवालाई थप प्रभावकारी बनाएको उनको दाबी छ । निजी अस्पतालको महंगो सेवाबारे पनि पन्तले जवाफ दिए । ‘विशेषज्ञ चिकित्सक सुरुमा यहाँ आउनै मान्दैनन्,’ उनले भने, ‘बल्लतल्ल ल्याएपछि उहाँहरूको पारिश्रमिक नै महँगो हुन्छ । त्यसैले उपचार खर्च पनि बढी देखिएको हो ।’ पन्तले सम्भव भएका उपचार आफ्नै गाउँठाउँका सरकारी स्वास्थ्य संस्थामै गराउन आग्रह गरे ।

इन्सेक सुदूरपश्चिमका संयोजक तथा नागरिक समाजका अगुवा खडकराज जोशीले आम नागरिकले अझै सहज रूपमा गुणस्तरीय स्वास्थ्य सेवा पाउन नसकेको बताए । अस्पतालहरूमा दरबन्दीअनुसार जनशक्ति, आवश्यक उपकरण र प्रभावकारी व्यवस्थापनको अभाव रहेको उल्लेख गर्दै उनले सरकारले स्वास्थ्य क्षेत्रलाई प्राथमिकता नदिएकाले अपेक्षित सुधार हुन नसकेको बताए । ‘सरकारको प्राथमिकता अझै पनि पूर्वाधार निर्माणमै बढी केन्द्रित छ,’ उनले भने ।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले कार्यक्रमको उद्घाटन गरेका थिए । कार्यक्रममा प्रदेशको स्वास्थ्य सेवाको अवस्था, पहुँच, गुणस्तर, जनशक्ति व्यवस्थापन र सुधारका योजना तथा सेवा प्रवाहमा देखिएका चुनौतीबारे छलफल गरिएको छ । अग्रलेख मल्टिमिडियाले आयोजना तथा स्वास्थ्य निर्देशनालय, निसर्ग अस्पताल एन्ड रिसर्च सेन्टर प्रालि तथा इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालयको सहकार्यमा कार्यक्रम भएको हो ।

Source: https://www.agralekh.com/news/7341