सप्तरीमा महिलालाई बाँधेर कुटपिट गरेको आरोपमा एक जना पक्राउ
अनलाइन खबर डटकम । २०८३ असार २६ गते
सप्तरी । सप्तरीमा सखुवाको खम्बामा बाँधेर महिलालाई कुटपिट तथा अमानवीय व्यवहार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तिलाठी कोइलाडी गाउँपालिका–६ मंसापुर का ३८ वर्षीय दिलीप मण्डल रहेका छन् ।
गत जेठ २२ तिलाठी कोइलाडी गाउँपालिका–६ की २३ वर्षीया पार्वतीकुमारी मण्डललाई सामूहिक रूपमा सखुवाको खम्बामा बाँधेर अर्धनग्न बनाइ कुटपिट तथा अमानवीय व्यवहार गरेका थिए । पीडित पार्वतीले दिलीप मण्डलसहित चारजनाविरूद्व जिल्ला प्रहरी कार्यालय सप्तरीमा किटानी जाहेरी दिइएकी थिइन् ।
जग्गा जमिन बाँडफाँटको विषयमा विवाद भएपछि ७५ वर्षीय ससुरा रामचन्द्र मण्डललाई जेठाजू प्रकाश मण्डलले मानसिक बिरामी रहेको भन्दै गत जेठ २१ गते सिरहा जिल्लाको धनगढीमाई नगरपालिका–११ छपरारीस्थित रहेका सुधार केन्द्रमा बन्धक शैलीमा लगेको घटनाको प्रतिकार गर्न खोज्दा आफूलाई अमानवीय व्यवहार गर्दै कुटपिट गरिएको पीडित पार्वती कुमारीले बताइन् ।
उनले आफू गरिब तथा विपन्न रहेको कारण न्यायिक प्रक्रियामा सहयोगका लागि इन्सेक सप्तरी प्रतिनिधिमार्फत मधेश प्रदेश कार्यालयमा पीडितले असार ८ गते निवेदन दिएकी थिइन् । त्यसपछि जेठ २७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् ।
जिल्ला प्रहरी सप्तरीका सूचना अधिकार तथा प्रवक्ता प्रहरी नायब उपरीक्षक हेमराज घिमिरेका अनुसार दिलीपकुमार मण्डललाई पक्राउ गरी सप्तरी जिल्ला अदालतबाट पाँच दिनको म्याद थप लिइ अनुसन्धान भइरहेको छ ।
Source: https://shorturl.at/VnP53
HUMAN RIGHTS NEWS PORTAL






