इन्सेक लगायत जिल्लामा क्रियाशील गैरसरकारी संस्थाहरूको वार्षिक समीक्षा गोष्ठी सम्पन्न

मकवानपुर । २०८३ साउन १९ गते

मकवानपुर जिल्लामा क्रियाशील गैरसरकारी संस्थाहरूको वार्षिक समीक्षा गोष्ठी हेटौँडा–२ वनस्खण्डीस्थित गैसस महासंघको सभाहलमा ०८३ असार १८ गते सम्पन्न भएको छ । गैसस महासंघ मकवानपुरकी अध्यक्ष रमिला सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति, मकवानपुरका प्रमुख ललित बहादुर घलानको प्रमुख अतिथ्यता, प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारी विशेष अतिथ्यता तथा गैसस महासंघका केन्द्रीय सचिव बुद्धशरण लामा, निवर्तमान अध्यक्ष डा. कृष्ण धिताल, हेटौँडा उपमहानगरपालिकाका सामाजिक विकास महाशाखा प्रमुख भीमप्रसाद तिमल्सिनालगायत विभिन्न गैरसरकारी संस्थाका प्रमुख तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

कार्यक्रममा इन्सेक लगायत ३० वटा गैरसरकारी संस्थाले आर्थिक वर्षभरि गरेका गतिविधि तथा उपलब्धिको समीक्षा प्रस्तुत गरेका थिए । प्रमुख अतिथि ललित घलानले पछिल्लो समय गैरसरकारी संस्थाको काम बजेट अभावका कारण खुम्चिँदै गएको हो कि भन्ने प्रश्न उठाउँदै समाज रूपान्तरणमा गैससको भूमिका अझै महत्त्वपूर्ण रहेको बताउनु भयो । उहाँले नीति, पारदर्शिता र प्रभावकारी कार्यसम्पादनलाई थप सुदृढ बनाउनुपर्नेमा जोड दिँदै स्थानीय तहसँग सहकार्य बढाउन आग्रह गर्नुभयो । राज्यलाई सहयोग गर्ने संस्थालाई राज्यले पनि सहयोगीका रूपमा हेर्नुपर्ने धारणा राख्दै उहाँले जनप्रतिनिधि र गैरसरकारी संस्थाबीच समन्वय अझ सुदृढ हुनुपर्ने बताउनु भयो ।

प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले समीक्षा प्रस्तुत गरेका इन्सेक लगायतका ३० संस्थाका प्रतिवेदनलाई प्रशासनले गम्भीर रूपमा अध्ययन गरी आवश्यक अनुगमन गर्ने जानकारी दिनु भयो । उहाँले जिल्ला प्रशासन कार्यालयमा हालसम्म २ हजार २ सय ५० गैरसरकारी संस्था दर्ता भए पनि हाल करिब ३ सय २० संस्थामात्र नवीकरण भएको तथ्याङ्क सार्वजनिक गर्नु भयो । उहाँले गैरसरकारी संस्था सरकारका प्रतिस्पर्धी नभई विकासका साझेदार भएको उल्लेख गर्दै संस्था दर्ता गर्नुअघि स्रोत, उद्देश्य र दीर्घकालीन योजनाबारे स्पष्ट हुनुपर्ने बताउनु भयो ।

साथै, अधिकांश संस्था सहर केन्द्रित रहेको र जिल्लाका १ सय २ वडामध्ये धेरै ग्रामीण क्षेत्रमा संस्थाको पहुँच कमजोर रहेको भन्दै सेवा गाउँसम्म विस्तार गर्न आग्रह गर्नुभयो । वार्षिक प्रतिवेदन नियमित बुझाउने र संस्थागत उत्तरदायित्व बढाउन पनि उहाँले जोड दिनुभयो । गैरसरकारी संस्था महासंघका केन्द्रीय सचिव बुद्धशरण लामाले पनि संस्थाहरूले ग्रामीण क्षेत्रमा आफ्नो उपस्थितिलाई थप प्रभावकारी बनाउनुपर्ने आवश्यकता औँल्याउँदै विकास र सामाजिक रूपान्तरणका लागि सबै पक्षबीच सहकार्य अपरिहार्य रहेको बताउनु भयो । कार्यक्रममा सहभागी वक्ताहरूले गैरसरकारी संस्थाको प्रभावकारिता, पारदर्शिता, नीति कार्यान्वयन तथा स्थानीय सरकारसँगको समन्वयलाई अझ सुदृढ बनाउँदै समाज रूपान्तरणका अभियानलाई निरन्तरता दिनुपर्नेमा जोड दिनु भएको थियो ।

मञ्जिता मैनाली