“भिन्न परिवेश, साझा आकांक्षा “भन्ने मुल नाराका साथ ३१ औं अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा युवा दृष्टि: नीति, अधिकार र सुरक्षा विषयक नीतिसंवाद तथा मानव बेचविखन तथा ओसार पसार रोकथाममा महिला, बालबालिका तथा युवाको भूमिका अन्तरकृया कार्यक्रम ०८३ साउन २७ गते जनकपुरमा सम्पन्न भएको छ । सो कार्यक्रम कायापलट, मिडवान, सवल नेपाल, महिला मानव अधिकारका लागि एल महिला समूह, आफन्त नेपाल, शान्ति पुनस्र्थापना गृह र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को संयुक आयोजना सम्पन्न भयो ।
कार्यक्रका प्रमुख अतिथि मधेस प्रदेश सभा प्रमुख माननीय राम आशिष यादवले युवाको उल्टो अर्थ वायु भएको भन्दै यसको विराट रुप आँधि भएको भन्नुभयो । युवाको क्षमता र शक्तिको यर्थाथ चित्रण ०८२ को भदौ २३ र २४ गतेले देखाइएको बताउनु भयो । उहाँले भन्नुभयो आजका युवाले अवसर पाएको खण्डमा रोजगारी सृजना आफै गर्न सक्षम रहेको छ । युवाको अगाडि शासक झुकेको इतिहास जिवन्त रहेको भन्दै सरकार यसप्रति सचेत हुनुपर्ने भन्नुभयो ।
मधेस प्रदेश नीति तथा योजना आयोगका सदस्य नवलकिशार यादवले परिवेश अनुसार युवाको क्षमता र आवश्यकता फरक रहेका कारण त्यसको पहिचान गर्न नसक्नु सरोकारवालाको दोष भएको भन्नुभयो । बेरोजगारी , गरिबि र अशिक्षा समाज विकासको मूल कारक तत्व भएको भन्दै यसतर्फ सुधारात्कम पहल कदमि गर्नुका साथै लैङ्गिक तथा समाजिक असमानता लागी मानसिकता बद्लिन सके मात्र युवामैत्री समान बन्न सक्ने बताउनुभयो ।
त्यसैगरि राष्ट्रिय मानव अधिकार आयोग मधेस प्रदेश कार्यालय प्रमुख बुद्धनारायण साहनीले युवालाई हेर्ने दृष्टिकोण कानुनले एकथरी र उमेरलाई हेर्ने फरक भएको धारणा ब्यक्त गर्नुभयो । कानुनले दिएको अधिकार व्यवहारमा कार्यान्वयन भयो भएन भनी अनुगमन गर्ने काम राज्यको दायित्व भएको औल्याउदै नीति कागजमा भएपनि त्यसको सवालहरु अन्यौलमा रहेको चर्चा गर्नुभयो । उच्चतम् शासन प्रणालीका कारण युवाहरु सधै राज्यप्रति असन्तुष्ट रहेको भन्नुभयो । युवाको श्रम अन्तर्राष्ट्रिय स्तरमा बेचिरहेको अवस्थामा युवाहरु अवसरबाट बञ्चित भएको कारण विदेशिने बाताबरण सृजना भएको र वर्तमानमा यो युवाहरुको नियति बनेको बताउनुभयो । त्यस्तै राजनितिक दलको अभ्यास जहिले पनि युवा वर्गालाई हनुमानको रुपमा प्रयोग भएको प्रति दु:ख व्यक्त गर्नुभयो ।
इन्सेकका प्रदेश संयोजक राजु पासवानले युवा दिवसको अवसरमा शुभकामना मन्तव्य राख्नु हुँदै युवा नीति र मानवअधिकार एकअर्कासँग जोडिएकाले नीति कार्यान्वयन गर्दा मानव अधिकारका विश्वव्यापी सिद्धान्तलाई केन्द्रमा राख्नुपर्नेमा जोड दिनुभयो। युवाको नीति निर्माण तथा निर्णय प्रक्रियामा अर्थपूर्ण सहभागिता, अभिव्यक्ति स्वतन्त्रता, गुणस्तरीय शिक्षा, मर्यादित रोजगारी, स्वास्थ्य तथा आधारभूत आवश्यकताको अधिकार सुनिश्चित गर्नुपर्ने बताउनुभयो । साथै, जात, लिङ्ग, धर्म, क्षेत्र, आर्थिक अवस्था तथा अपाङ्गताका आधारमा हुने विभेद अन्त्य गरी सीमान्तकृत युवालाई प्राथमिकता दिनुपर्नेमा भन्नुभयो ।
मिडवानकि अध्यक्ष दिपिका लामाले अपाङ्गता भएका युवालाई पनि अरू युवासरह समान अवसर र सहभागिता दिनुपर्नेमा जोड दिनुभयो। अपाङ्गताका कारण हुने विभेद नगरि नीति तथा निर्णय बनाउने काममा उनीहरूको पनि सहभागिता सुनिश्चित रहनुपर्ने भन्नुभयो।

त्यसैगरी आफन्त नेपालकी धनुषा जिल्ला संयोजक अमृता घिमिरेले युवा नीति प्रभावकारी रूपमा कार्यान्वयन हुन नसक्दा बेरोजगारी, गरिबी, सीपको कमी र अवसरको अभाव अझै बढ्न सक्छ भन्नुभयो । यस्तो अवस्थामा युवाहरू रोजगारी वा राम्रो भविष्यको खोजीमा गलत व्यक्तिको प्रलोभनमा परी मानव बेचबिखन तथा ओसारपसारको जोखिममा पर्न सक्छन्। त्यसैले युवा नीतिलाई प्रभावकारी रूपमा कार्यान्वयन गरी युवालाई शिक्षा, सीप, रोजगारी र सुरक्षित अवसर उपलब्ध गराउन सरकार गम्भिर हुनुपर्ने बताउनुभयो ।
नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य राजेश कर्णले युवाहरु आफ्नो एनेण्डा लिएर सधै सरकार नीति निर्मातासँग प्रश्न गर्छन्, अब उनीहरुको प्रश्नलाई समायोजन नगर्दा दुर्घटना हुने सम्भावनाहरु देखिन थालेको भन्नुभयो । युवाको परिश्रमले देशमा २८ प्रतिशत रेमिटान्स भित्राई अर्थतन्त्रमा सहयोग गरिरहेका युवाहरुले समुदायमा गरेको योगदानको कदर गरिदौन, न कुनै नीतिमा उनीहरुको प्रश्नको उत्तर भेटिन्छ भन्दै चिन्ता व्यक्त गर्नुभयो ।
त्यस्तै मिडिया काउन्सिलका पूर्व अध्यक्ष कैलाश दासले यो दिवसलाई अवसरको रुपमा लिनुपर्ने भन्नुभयो । यस अवसरमा युवाहरु, सरोकारबाला, नागरिक समाजलगायतको उपस्थितिमा पछिल्लो समयको समीक्षा गर्ने तथा रणनीतिक रुपमा नयाँ योजनाका लागी बहस हुनुपर्ने अपरिहार्य रहेको बताउनुभयो ।
कार्यक्रममा सहभागी युवाहरुले युवापुस्तालाई सशक्त बनाउन शिक्षमा लगानी, रोजगारी सृजना एवं अर्थपूर्ण सहभागी भएको बताए । साथै मधेस प्रदेशको ०८३/८४ को निति तथा योजना अनुसार आफ्नो एजेण्डा संशोधन गर्नुपर्ने सन्दर्भमा युवाहरुबीच समूह कार्य गरिएको थियो । समूहकार्यबाट आएका सुझावहरु मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा बुझाइने आयोजकले बताए । बनेका नीतिहरुको प्रभावकारी कार्यान्वय हुनु पर्नेमा सरभागीहरुले जोड दिए । उक्त कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधि, युवाहरु तथा सञ्चारकर्मीको उपस्थिति रहेको थियो ।
HUMAN RIGHTS NEWS PORTAL






