आर्थिक अवस्था कमजोर रहेका धनुषा जिल्ला धनुषाधाम नगरपालिका–५ बस्ने रेडियो धनुषामा कार्यरत २३ वर्षीय पत्रकार गोबिन्द यादवलाई अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले ०८३ साउन २९ गते आर्थिक सहायता प्रदान गरेको छ ।
पीडित पत्रकारलाई कानुनी प्रक्रियामा जान तथा स्वास्थ्य उपचारमा सहयोग हुने उदेश्यले मानव अधिकार सहायता कक्षमार्फत नगद १० हजार रुपियाँ प्रदान गरिएको प्रदेश संयोजक राजु पासवानले जानकारी दिनुभयो । मानवअधिकार संरक्षण केन्द्र सञ्जाल सिरहाकी संयोजक तथा मुक्ति नेपालकी अध्यक्ष देवकुमारी महराले र इन्सेक सिरहा जिल्ला प्रतिनिधि दुर्गा परियारले संयुक्त रुपमा सो सहायता रकम हस्तान्तरण गर्नुभयो ।
असार ११ गते कर्जन्हा नगरपालिका– ७ मरेवा टोलमा आरसिसि ढलानको विषयमा स्थानीय र वडा अध्यक्ष बीचको विवाद भइरहेको रिपोटिङ्ग गर्ने क्रममा यादवलाई वडा अध्यक्ष ५१ वर्षीय रामसेवक यादव र उनका छोरा २१ वर्षीय गिरिजा यादवले कुटपिट गरेको आरोपमा पीडितले इलाका प्रहरी कार्यालय मिर्चैयामा ०८३ असार १२ गते उजुरी दिएका थिए । इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी पुरुषोतम पाण्डेले यादवले दिएको उजुरी दर्ता गरिएको र कार्वाही प्रक्रिया अगाडी बढाउने भन्दै आरोपितहरु फरार रहेकोले खोज तलास भइरहेको बताउनुभयो ।
HUMAN RIGHTS NEWS PORTAL






