रौतहटमा जिल्ला स्तरीय बालभेला सम्पन्न

रौतहट । २०८३ भदौ २७ गते

‘बालबालिकाको सहभागिता सुनिश्चित गरौँ, बालमैत्री समाज निर्माण गरौँ’ भन्ने नाराका साथ रौतहटमा जिल्लास्तरीय बालभेला ०८३ भदौ २६ गते जिल्ला समन्वय समिति रौतहटको आयोजना तथा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालय, ग्रामीण विकास केन्द्र (आरडिसी), वर्ल्ड भिजन इन्टरनेसनल, सेभ द चिल्ड्रेन, सबल नेपाल र स्विडेन इसभरेजलगायत संस्थाको सहयोगमा गौरमा सम्पन्न भएको छ ।

जिल्ला समन्वय समितिका सभापति राम अयोध्या राय यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद पौडेलले बालबालिकाको सर्वोत्तम हितलाई केन्द्रमा राखेर उनीहरूको अधिकार संरक्षण र प्रवर्धन गर्न राज्यका सबै निकाय जिम्मेवार हुनुपर्ने बताउनुभयो। बालबालिकाको जीवन, शिक्षा, सुरक्षा र विकाससँग सम्बन्धित निर्णय प्रक्रियामा उनीहरूको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नुपर्नेमा उहाँले जोड दिनुभयो। पौडेलले बालबालिकासम्बन्धी घटनाका पीडितलाई न्याय दिलाउने सवालमा कुनै किसिमको सम्झौता नगर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, “बाल अधिकारको संरक्षण केवल बालबालिकाको विषय मात्र होइन, यो राज्यको दायित्व पनि हो। बालबालिकामाथि हुने हिंसा, दुर्व्यवहार र विभेदका घटनामा पीडितले न्याय पाउने वातावरण निर्माण गर्न प्रशासन प्रतिबद्ध छ।” 

 

त्यसैगरी जिल्ला समन्वय समितिका सभापति राम अयोध्या राय यादवले बालबालिकालाई अधिकारका विषयमा सचेत बनाउँदै उनीहरूलाई स्थानीय शासन प्रक्रियामा सहभागी गराउनुपर्ने बताउनुभयो। बालमैत्री स्थानीय शासन निर्माणका लागि जिल्लाका १८ वटै स्थानीय तहसँग समन्वय गरी आवश्यक निर्देशन तथा खबरदारी गर्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो। सभापति यादवले भन्नुभयो, “बालबालिकाका सवाललाई स्थानीय तहको योजना र बजेटमा प्राथमिकताका साथ समेटिनुपर्छ। बालमैत्री समाज निर्माणका लागि बालबालिकाको आवाज सुन्ने र उनीहरूको सहभागितालाई व्यवहारमै सुनिश्चित गर्ने वातावरण बनाउन जिल्ला समन्वय समितिले समन्वय र सहजीकरण गर्नेछ।”

जिल्ला समन्वय समितिका कार्यालय प्रमुख लेखनाथ खतिवडाले बालबालिकाका अधिकारसम्बन्धी विषयलाई संस्थागत रूपमा सम्बोधन गर्न स्थानीय तह, विद्यालय, अभिभावक र सरोकारवाला निकायबीच सहकार्य आवश्यक रहेको बताउनुभयो। उहाँले बालबालिकाले आफ्ना सवाल स्वतन्त्र रूपमा राख्न पाउने वातावरण निर्माण गर्नुका साथै उनीहरूको क्षमता विकासमा समेत ध्यान दिनुपर्ने धारणा राख्नुभयो।उहाँले भन्नुभयो, “बालबालिकाको सहभागिता कार्यक्रमको औपचारिकतामा मात्र सीमित हुनुहुँदैन। उनीहरूले उठाएका सवाललाई सुन्ने, सम्बोधन गर्ने र निर्णय प्रक्रियामा समेट्ने अभ्यास विकास गर्न आवश्यक छ।”

इन्सेक रौतहट प्रतिनिधि गौरी न्यौपानेले बालबालिकाको सहभागितालाई औपचारिक कार्यक्रममा मात्र सीमित नगरी स्थानीय तहको नीति, योजना र निर्णय प्रक्रियामा अर्थपूर्ण रूपमा सुनिश्चित गर्नुपर्ने बताउनुभयो। उहाँले बालविवाह, बालश्रम, हिंसा, दुव्र्यवहार र विभेदजस्ता समस्याको न्यूनीकरणका लागि बालबालिकाले आफ्ना सवाल स्वतन्त्र रूपमा राख्न पाउने वातावरण निर्माणसँगै उनीहरूले उठाएका विषयलाई सम्बन्धित निकायले प्राथमिकताका साथ सम्बोधन गर्नुपर्नेमा जोड दिनुभयो। बालमैत्री समाज निर्माणका लागि स्थानीय तह, विद्यालय, अभिभावक, बाल सञ्जाल तथा सरोकारवाला संस्थाबीच निरन्तर समन्वय र सहकार्य आवश्यक रहेको भनाइ ब्यक्त गर्नुभयो।

भेलाले आदिति रौनियारको अध्यक्षतामा नाजीम उस्ता उपाक्ष्यक्ष,अस्मीता पासवान सचिव, अर्जुन दास सह–सचिव रहने गरी २१ सदस्यीय कार्यसमिति गठन गरेको छ । भेलाले बाल अधिकारको संरक्षण तथा बालबालिकाको अर्थपूर्ण सहभागिताका लागि स्थानीय तह र सरोकारवाला निकायबीच निरन्तर समन्वय र सहकार्य गर्नुपर्नेमा जोड दिएको छ। भेलामा सहभागी बालबालिकाले शिक्षा, बालविवाह, बालश्रम, हिंसा, दुर्व्यवहार , विभेद तथा बालमैत्री वातावरण निर्माणलगायतका विषयमा आफ्ना सवाल र अपेक्षा प्रस्तुत गरेका थिए।

गौरी न्यौपाने