गर्भवती महिलामाथि अमानवीय व्यवहार भएको घटनाको इन्सेकद्वारा स्थलगत अनुगमन
शिरीष न्यूज डटकम । २०८३ भदौ २७ गते
सप्तरी – गजेन्द्रनारायण सिंह अस्पताल, राजविराजमा गर्भवती महिलामाथि अमानवीय व्यवहार भएको भनिएको घटनाको अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश संयोजक राजु पासवान र मानवअधिकारकर्मी टोलीहरूद्वारा २०८३ भदौ २६ गते स्थलगत अनुगमन गरेको छ।
राजविराज नगरपालिका–१४ की ३० वर्षीया बबिता देवी पासवानलाई भादाै २३ गते अस्पतालले समयमा स्वास्थ्य सेवा उपलब्ध नगराएको र अस्पताल परिसरको मूल गेटबाहिरै बच्चा जन्माउन बाध्य भएको घटनाबारे स्थलगत अनुगमन गरेको हो।
अनुगमनका क्रममा पीडित बबिता देवी पासवानसँग अस्पताल परिसरमै भेट गरी घटनाबारे विस्तृत जानकारी लिएको थियो। पासवानले आफूलाई अस्पतालमा अमानवीय व्यवहार गरिएको भन्दै घटनामा संलग्न जिम्मेवार व्यक्तिमाथि छानबिन गरी कारबाही गर्न माग गर्नुभयो।
अस्पतालका निमित्त मेडिकल मेसु डा. रणजित कुमार झासँग घटनाबारे जानकारी लिएको थियो। डा. झाले अस्पतालको तर्फबाट घटनाको आन्तरिक छानबिनका लागि भदौ २५ गते समिति गठन गरिएको तथा माथिल्लो निकायबाट समेत घटनाको अनुसन्धान भइरहेको जानकारी दिनुभयो। घटनाका दिन ड्युटीमा रहेका चिकित्सकसहित स्वास्थ्यकर्मी तथा कर्मचारी गरी ६ जनालाई कामकाजबाट हटाइएको मेसु झाले बताउनुभयो। अस्पतालको तर्फबाट केही कमजोरी नभएको स्वीकार गर्दै छानबिनपछि थप आवश्यक निर्णय लिइने बताउनुभयो।
इन्सेक मधेस प्रदेश संयोजक राजु पासवानले घटनाप्रति दुःख व्यक्त गर्दै स्वास्थ्य सेवा पाउनु प्रत्येक नागरिकको संवैधानिक मौलिक हक भएको बताउनुभयो। नेपालको संविधानको धारा ३५(१) ले प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित गर्न नहुने व्यवस्था गरेको छ। त्यस्तै धारा ३५(३) ले प्रत्येक नागरिकलाई स्वास्थ्य सेवामा समान पहुँचको हक सुनिश्चित हुनुपर्ने बताए।
अनुगमन टोलीमा इन्सेक मधेस प्रदेश संयोजक राजु पासवान, मुक्ति नेपालकी अध्यक्ष देवकुमारी मोहरा, इन्सेक सिरहा जिल्ला प्रतिनिधि दुर्गा परियार र इन्सेक सप्तरी जिल्ला प्रतिनिधि नविन यादव लगायतको सहभागिता रहेको थियो।
Source: https://shorturl.at/vq8lL
Source: https://shorturl.at/TPpzj
Source: https://shorturl.at/NPfah
HUMAN RIGHTS NEWS PORTAL






