छैटौँ राष्ट्रिय कार्ययोजना कार्यान्वयन समितिमा इन्सेक अध्यक्ष गौतम मनोनीत

समाचार विचार डटकम । २०८३ भदौ ३० गते

काठमाडौं । सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजनाको कार्यान्वयन सुनिश्चितताका लागि गठन हुने सङ्घीय समन्वय समितिको प्रतिनिधि सदस्यमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का अध्यक्ष विजयराज गौतमलाई मनोनयन गरेको छ।

मन्त्रिपरिषद्को २०८३ भदौ २६ गतेको बैठकले गौतमलाई समितिको प्रतिनिधि सदस्य तोकेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले २०८३ भदौ २९ गते पठाएको पत्रमा उल्लेख छ।

मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना (आर्थिक वर्ष २०८०/०८१–२०८५/०८६) मा उल्लिखित क्रियाकलापको कार्यान्वयन सुनिश्चितताका लागि कार्ययोजनाको दफा ४.२.१ बमोजिम गौतमलाई सङ्घीय समन्वय समितिको प्रतिनिधि सदस्य तोकिएको हो।

मानव अधिकारको संरक्षण, प्रवर्धन तथा कार्यान्वयनका लागि नेपाल सरकारले तयार गरेको राष्ट्रिय दस्तावेजका रूपमा छैटौँ राष्ट्रिय कार्ययोजनामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मानव अधिकार प्रतिबद्धताको कार्यान्वयन, राज्यका विभिन्न तह र निकायबीच समन्वय तथा मानव अधिकारको अवस्था अनुगमनलगायतका विषय समेटिएका छन्।

सङ्घीय समन्वय समितिले कार्ययोजनामा उल्लेखित क्रियाकलापको कार्यान्वयनमा समन्वय तथा अनुगमन गर्नेछ। समितिमा नागरिक समाजको प्रतिनिधिका रूपमा इन्सेक अध्यक्ष गौतमको सहभागिता रहनेछ।