रसुवाका ३ सय ८२ बाढी प्रभावित परिवारलाई राहत वितरण

२०८३ भदौ ३१ गते । रसुवा

भोटेकोशी हुदै त्रिशुली नदिमा ०८३ भाद्र १० गते आएको बाढीबाट प्रभावित रसुवाका तीन स्थानीय तहका ३ सय ८२ परिवारलाई राहत सामग्री वितरण गरिएको छ । इन्सेकको समन्वयमा कर्मयोगी फाउण्डेसनले कोका–कोला र बोटलर्स नेपाल लिमिटेडको आर्थिक सहयोग तथा प्रकाश डंगोल र रोशन भण्डारीको सहजीकरणमा राहत सामग्री वितरण गरेको हो ।

रसुवाको नौकुण्ड गाउँपालिका, उत्तरगया गाउँपालिका र कालिका गाउँपालिकाका बाढी प्रभावित परिवारलाई भदौ ३० गते राहत सामग्री प्रदान गरिएको हो।

       

प्रत्येक परिवारलाई बाढीपछिको अवस्थामा दैनिक जीवनयापनका लागि आवश्यक पर्ने विभिन्न सामग्री समेटेर ‘फ्यामिली प्याक’ तयार गरी वितरण गरिएको थियो। विपद्का कारण प्रभावित परिवारलाई तत्काल आवश्यक पर्ने आधारभूत सामग्री उपलब्ध गराउने उद्देश्यले राहत वितरण गरिएको आयोजकले जनाएको छ।

बाढीका कारण घरायसी सामग्री तथा दैनिक आवश्यकताका वस्तुमा क्षति पुगेका परिवारलाई राहत सामग्रीले केही सहजता प्रदान गर्ने अपेक्षा गरिएको छ। स्थानीय स्तरमा प्रभावित परिवारको पहिचान गरी लक्षित समुदायसम्म राहत पुर्‍याइएको हो।
इन्सेकको समन्वय, कर्मयोगी फाउण्डेसनको पहल तथा कोका–कोला र बोटलर्स नेपाल लिमिटेडको आर्थिक सहयोगमा सञ्चालन गरिएको राहत अभियानले विपद्को समयमा प्रभावित परिवारलाई आवश्यक सहयोग उपलब्ध गराएको छ।

केदार ढकाल