‘बालापनको रक्षा : भविष्यको सुरक्षा’ भन्ने नाराका साथ ६२ औँ राष्ट्रिय बाल दिवसको अवसरमा बाल कल्याण समाज सर्लाहीको आयोजना एवम् अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) तथा विभिन्न सङ्घसंस्थाको सहकार्यमा ०८३ भदौ २७ गते जिल्ला स्तरीय बाल भेला मलंगवामा सम्पन्न भएको छ।
जिल्ला समन्वय समितिका सभापति कौशलकिशोर सिंहले बालबालिकालाई स्थानीय शासन प्रक्रियामा अर्थपूर्ण रूपमा सहभागी गराउनुपर्ने बताउनु भयो। उहाँले बालमैत्री स्थानीय शासन निर्माणका लागि जिल्लाका २० वटै स्थानीय तहसँग समन्वय गरी बाल अधिकारका सवाल सम्बोधन गर्न आवश्यक पहल र खबरदारी गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीले बालबालिकाको सर्वोत्तम हितलाई प्राथमिकतामा राखेर उनीहरूको अधिकार संरक्षण गर्न राज्यका सबै संयन्त्र जिम्मेवार हुनुपर्ने बताउनुभयो। उहाँले बालबालिकामाथि हुने हिंसा, दुर्व्यवहार र विभेदका घटनामा पीडितले सहज रूपमा न्याय पाउने वातावरण निर्माण गर्न प्रशासन प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो। बाल अधिकारलाई व्यवहारमै सुनिश्चित गर्न स्थानीय तह, विद्यालय, अभिभावक र सरोकारवाला संस्थाबीच निरन्तर सहकार्य आवश्यक रहेको बताउनुभयो। बालबालिकाले आफ्ना समस्या र आवश्यकता निर्धक्क रूपमा राख्न पाउने वातावरणसँगै उनीहरूको क्षमता विकासमा समेत ध्यान दिनुपर्ने उहाँको भनाइ थियो।

त्यसैगरी बाल कल्याण समाज सर्लाहीका अध्यक्ष सुन्दरश्याम यादवले बालबालिकाले उठाएका सवाल तथा अपेक्षा प्रस्तुत गर्नुभएको थियो। उहाँले बाल अधिकारका विषयलाई औपचारिक कार्यक्रममा सीमित नराखी स्थानीय तहका नीति, योजना र बजेटमा प्राथमिकताका साथ समेट्नुपर्नेमा जोड दिनुभयो।
भेलामा सहभागी बालबालिकाले बालविवाह, बालश्रम, हिंसा, दुर्व्यवहार तथा विभेद अन्त्य गर्न प्रभावकारी कदम चाल्नुपर्ने माग गरेका थिए। उनीहरूले विद्यालयमा सुरक्षित तथा बालमैत्री वातावरण, गुणस्तरीयशिक्षा र स्थानीय तहका योजना निर्माण तथा निर्णय प्रक्रियामा बालबालिकाको सहभागिता सुनिश्चित गर्नुपर्ने बताएका थिए।
जिल्ला समन्वय समितिका सभापति कौशलकिशोर सिंहको अध्यक्षतामा भएको भेलामा बालबालिकाको अधिकार संरक्षण, उनीहरूको सहभागिता सुनिश्चित तथा बालमैत्री वातावरण निर्माणका लागि स्थानीय तहलाई थप जिम्मेवार बन्न सहभागीहरुले माग गरेका छन्।
बुधन साह
HUMAN RIGHTS NEWS PORTAL






