धादिङ । २०८३ भदौ ३१ गते

धादिङको बेनिघाट रोराङ गाउँपालिका–७ चरौँदीस्थित बुद्धिविकास आधारभूत विद्यालयमा भदौ १४ गते त्रिशूली नदीमा आएको बाढीले क्षति पुर्‍याएको छ । बाढीले विद्यालयका दुईओटा कक्षाकोठा पूर्ण रुपमा क्षति भएको छ । पाँच ओटा कक्षाकोठा समेत अहिले प्रयोग गर्न नमिल्ने अवस्था छन् । बाढीले विद्यालयको पर्खाल भत्काएपछि अहिले विद्यालय परिसरबाटै त्रिशूली नदी बगिरहेको छ । नदीले धार परिवर्तन गर्दै विद्यालयतर्फ कटान गरेपछि भवनभित्र पस्नसमेत जोखिमपूर्ण भएको प्रधानाध्यापक मेनुका ढुङ्गानाले बताउनुभयो । भदौ १४ गते बाढी आउँदा विद्यालयमा विद्यार्थी थिएनन् । चरौँदी बजारका स्थानीय बासिन्दासमेत बाढीको जोखिम देखेर घर छाडेर सुरक्षित स्थानतर्फ गइसकेका थिए । त्यसैले मानवीय क्षति हुनबाट जोगिए पनि विद्यालय भने आँखैअगाडि बाढीको चपेटामा परेको प्रधानाध्यापक ढुङ्गानाले बताउनुभयो । “विद्यालयको अवस्था हेर्दा अब यहाँ बसेर पढाउन सकिने अवस्था छैन,” प्रधानाध्यापक ढुङ्गानाले भन्नुभयो, “विद्यार्थीको पढाइ नरोकिने गरी अहिले वैकल्पिक ठाउँको व्यवस्था गरेर कक्षा सञ्चालन गरिरहेका छौँ ।”

विद्यालयमा अध्ययनरत १ सय १५ विद्यार्थीलाई अहिले बेनिघाट रोराङ गाउँपालिकाको  विशालटारमा रहेको क्याम्पस भवनमा पढाउन थालिएको छ । आफ्नै विद्यालय भवन बाढीले क्षतिग्रस्त भएपछि बालबालिकाले नयाँ ठाउँमा बसेर पढ्न थालेका छन् ।

बाढीले चरौँदी क्षेत्रका अन्य संरचनामा समेत क्षति पुर्‍याएको छ । चरौँदीस्थित सहकारी भवन र गोरखाको घ्यालचोकतर्फ जाने झोलुङ्गे पुल, वडा कार्यालय, स्वास्थ्य सवा इकाइ, सहकारी तरकारी संकलन केन्द्र र सामुदायिक सिकाई केन्द्र समेत बाढीले क्ष्ति पुर्‍याएको छ ।  सडक, पुल र सार्वजनिक संरचनामा क्षति पुगेपछि स्थानीयको दैनिक जीवनसमेत प्रभावित भएको छ । विद्यालय भवन तत्काल प्रयोग गर्न नसकिने भएपछि विद्यार्थीको पढाइलाई निरन्तरता दिन वैकल्पिक भवनमा कक्षा सञ्चालन गरिएको प्रधानाध्यापक ढुङ्गानाले बताउनुभयो । तर, विद्यालयको स्थायी व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा भने चुनौती कायमै छ ।

सीताराम अधिकारी