धादिङ । २०८३ भदौ २५ गते

भोटेकोशी बाढीले धादिङ सदरमुकाम जोड्ने कालुपाण्डे मार्गअन्तर्गत फुर्केखोलाको पक्की पुल बगाएपछि अवरुद्ध सडकको विकल्पमा निर्माण भइरहेको परेवाटार–मास्टार सडक समयमै सञ्चालनमा आउन नसक्दा सदरमुकाम धादिङबेँसीमा अत्यावश्यक वस्तुको अभाव हुन थालेको छ । मुख्य सडक अवरुद्ध भएको दुई साता बितिसक्दा पनि वैकल्पिक मार्गबाट खाद्यान्न, ग्यास, पेट्रोलियम पदार्थलगायतका मालवाहक सवारी सहज रूपमा सदरमुकामसम्म पुग्न सकेका छैनन् । यसका कारण बजारमा ग्यास, तेल तथा खाद्यान्नको मौज्दात घट्दै गएको व्यवसायीले बताएका छन् । ग्यास उपभोक्ताले पाउनका लागि कठिन भएपछि एक ग्यास किन्न तीन दिनसम्म लाइनमा बस्ने गरेको देखिन्छ । बाढीले पुल बगाएपछि भदौ १० गतेदेखि धादिङबेँसीसँगको मुख्य सडक सम्पर्क विच्छेद भएको हो ।

सदरमुकाम जोड्ने वैकल्पिक सडक निर्माण तथा स्तरोन्नतिको जिम्मेवारी पाएका सम्बन्धित कार्यालय र सिद्धलेक गाउँपालिकाले परेवाटार–पिपलटार–आदमटार–बेलिनटार–मास्टार सडकको मर्मत तथा स्तरोन्नतिमा अपेक्षित तदारुकता नदेखाउँदा समस्या लम्बिएको स्थानीयको गुनासो छ । सडक निर्माणको काम ढिलो हुँदा वैकल्पिक मार्ग भएर ठूला मालवाहक सवारी सञ्चालन गर्न सक्ने अवस्था अझै बनेको छैन । जिल्ला विपद् व्यवस्थापन समितिको सिफारिसमा बाढीपछि धादिङबेँसी आवतजावतका लागि विभिन्न वैकल्पिक सडक प्रयोगमा ल्याइए पनि ती सडक यात्रुवाहक सवारीका लागि मात्र सहज हुने अवस्थामा छन् । हिलो, चिप्लो, साँघुरो र कतिपय स्थानमा जोखिमपूर्ण सडक भएकाले खाद्यान्न तथा ग्यास बोकेका ठूला सवारी सञ्चालन गर्न समस्या भइरहेको छ ।

मुख्य सडक बन्द हुँदा धादिङबेँसीसहित उत्तरी र मध्य धादिङका आठ स्थानीय तह तथा गोरखाका केही क्षेत्रमा समेत दैनिक उपभोग्य वस्तुको आपूर्ति प्रभावित भएको छ । लामो समयदेखि मालवाहक सवारी सहज रूपमा सञ्चालन हुन नसक्दा बजारमा खाना पकाउने ग्यास, पेट्रोलियम पदार्थ, चामल, दाल, नुन, तेललगायतका सामग्रीको आपूर्ति प्रभावित भएको व्यवसायीको भनाइ छ ।

यातायात व्यवसायीका अनुसार परेवाटार हुँदै मास्टारसम्मको सडकको स्तरोन्नति र मर्मतको काम पूरा भए भदौ २५ गतेदेखि यात्रुवाहक सवारी सञ्चालन गर्न सकिनेछ । तर, सडकको अवस्था सुधार नगरी मालवाहक सवारी सञ्चालन गर्न कठिन हुने उहाँहरूको भनाइ छ । धादिङ मण्डली यातायात प्रा.लिका व्यवस्थापक जय भट्ट (सिताराम) का अनुसार वैकल्पिक सडकमा यात्रुवाहक सवारी सञ्चालनको तयारी गरिएको छ । तर, सडकको अवस्था कमजोर भएकाले सवारी चालक र यात्रुले सावधानी अपनाउनुपर्ने अवस्था छ । सडक मर्मतको काम अझ बाँकी छ । सदरमुकाममा अत्यावश्यक वस्तुको आपूर्ति सहज बनाउन वैकल्पिक सडकलाई तत्काल मालवाहक सवारी सञ्चालन गर्न सक्ने गरी सुधार गर्नुपर्ने व्यवसायीले माग गरेका छन् । सडक निर्माणको काममा ढिलाइ भइरहने हो भने आगामी दिनमा खाद्यान्न, ग्यास र इन्धनको अभाव अझ बढ्न सक्ने उनीहरूको चिन्ता छ ।

सीताराम अधिकारी