धादिङ । २०८३ भदौ २५ गते
भोटेकोशी र त्रिशूली नदीमा आएको भीषण बाढीबाट प्रभावित तथा विस्थापित भएका गजुरी गाउँपालिका–५, घाटबेसीका १४ परिवारलाई शितल छहारी नेपालले राहत तथा अत्यावश्यक घरायसी सामग्री वितरण गरेको छ । बाढीबाट प्रभावित भएर विस्थापित भएता पनि हालसम्म सहयोग प्राप्त गर्न नसकेका परिवारलाई लक्षित गरी संस्थाले करिब २ लाख रुपियाँ बराबरको राहत सामग्री उपलब्ध गराएको हो ।
प्रभावित परिवारलाई टेन्ट, खानेपानीका जार, डसना, तन्ना, सिरानी, धारा, बोतल, बाटा, जग, चपिङ बोर्ड, चक्कु, तरकारी छिल्ने उपकरण, दाँत माझ्ने ब्रस, मास्कलगायतका सामग्री वितरण गरिएको थियो ।

गजुरी गाउँपालिका–५ का वडा अध्यक्ष गोविन्द लामिछानेको उपस्थितिमा तथा नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष एवं इन्सेक प्रतिनिधि सीताराम अधिकारीको समन्वयमा राहत सामग्री हस्तान्तरण गरिएको हो । बाढीपछि घरबार गुमाएर अस्थायी तथा छिमेकीको आश्रयमा बसिरहेका परिवारलाई दैनिक जीवनमा तत्काल आवश्यक पर्ने सामग्री उपलब्ध गराइएको आयोजक सितल छहारी नेपालका अध्यक्ष कृष्ण बद्री पौडेलले बताउनुभयो ।

राहत वितरण कार्यक्रममा अनलाइन मिडिया सोसाइटी धादिङका अध्यक्ष केशव अधिकारी, लायन्स इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ आईका रिजन चेयर्स पर्सन कृष्णप्रसाद ढकाल ‘शिशिर’, शितल छहारी नेपालका उपाध्यक्ष विक्रम पौडेल, पैरवी अनलाइनका निर्देशक श्याम मग्राती, त्रिकोण खबरका सम्पादक ईश्वर थापा मगरलगायतको सहभागिता थियो ।

राहत सामग्री जुटाउन र प्रभावित परिवारसम्म पुर्याउन समन्वय गरिदिएकोमा शितल छहारी नेपालका अध्यक्ष कृष्ण बद्री पौडेलले इन्सेक प्रतिनिधि सीताराम अधिकारी र कृष्णप्रसाद ढकाल ‘शिशिर’प्रति धन्यवाद व्यक्त गर्नुभयो । उहाँले विपद्बाट प्रभावित नागरिकको आवश्यकता पहिचान गरी संस्थाको सहयोगलाई निरन्तरता दिने बताउनुभयो ।

वडा अध्यक्ष गोविन्द लामिछानेले बाढीबाट विस्थापित परिवारलाई तत्काल आवश्यक पर्ने सामग्री उपलब्ध गराएकोमा शितल छहारी नेपालका अध्यक्ष पौडेलसहित सहयोग र समन्वयमा संलग्न सबैप्रति आभार व्यक्त गर्नुभयो।

शितल छहारी नेपालले यसअघि भदौ १५ गते नुवाकोटको विदुर नगरपालिका–७, तुप्चेको अक्करेमा समेत बाढी प्रभावित परिवारलाई राहत सामग्री वितरण गरेको थियो। संस्थाले विपद्का कारण प्रभावित भएका परिवारलाई तत्काल आवश्यक सामग्री उपलब्ध गराउने अभियानलाई निरन्तरता दिने जनाएको छ।
सीताराम अधिकारी
HUMAN RIGHTS NEWS PORTAL