नुवाकोट । २०८३ असोज ५ गते
गत भदौ १० गते आएको भोटेकोशी बाढीका कारण नुवाकोटका विभिन्न स्थानीय तहमा ठूलो मानवीय तथा भौतिक क्षति भएको छ। बाढीपछि प्राप्त पालिकागत विवरणअनुसार जिल्लामा सयौँ व्यक्ति अझै बेपत्ता छन् भने विभिन्न स्थानीय तहमा मानवीय क्षतिसमेत भएको छ।
पालिकागत विवरणअनुसार विदुर नगरपालिकामा सबैभन्दा बढी ५ सय ७३ जना बेपत्ता भएका छन् भने तीन जनाको मृत्यु भएको छ। किस्पाङ गाउँपालिकामा १ सय २१, बेलकोटगढी नगरपालिकामा ३३, सूर्यगढी गाउँपालिकामा २०, म्यागङ गाउँपालिकामा १९, लिखु गाउँपालिकामा १३ र तादी गाउँपालिकामा १३ जना बेपत्ता भएका छन्।
त्यस्तै, दुप्चेश्वर गाउँपालिकामा नौ, ककनी गाउँपालिकामा पाँच, शिवपुरी गाउँपालिकामा पाँच र पञ्चकन्या गाउँपालिकामा दुई जना बेपत्ता भएको विवरण छ।
मृत्यु हुनेमा सूर्यगढी गाउँपालिकाका सात, लिखु गाउँपालिकाका दुई, बेलकोटगढी नगरपालिकाका दुई र ककनी गाउँपालिकाका एक जना छन्। पालिकागत विवरणअनुसार तारकेश्वर गाउँपालिकामा भने मानवीय क्षति नभएको सूचना अधिकारी एलिन तामाङले जानकारी दिनुभएको छ।
बाढीबाट प्रभावित समग्र क्षेत्रमा २ हजार ७ सय १६ जना बेपत्ता रहेको विवरण प्राप्त भएको छ। बाढीपछि खोज तथा उद्धारका क्रममा २ सय ३ जनाको शव फेला परेको र ३ हजार ६ सय ८ जनाको उद्धार गरिएको विवरणमा उल्लेख छ। उक्त तथ्यांक नुवाकोट जिल्लाको मात्र नभई बाढी प्रभावित समग्र क्षेत्रको रहेको जनाइएको छ।
बाढीका कारण नुवाकोट जिल्लामा मात्रै १ हजार ४ सय ७२ घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने ४ सय ८३ घरमा आंशिक क्षति पुगेको छ। पूर्ण तथा आंशिक गरी जिल्लामा १ हजार ९ सय ५५ घरधुरी प्रभावित भएका छन्।
बाढीबाट विस्थापित परिवारलाई राख्न नुवाकोटमा अहिले पनि नौ वटा होल्डिङ सेन्टर सञ्चालनमा छन्। ती होल्डिङ सेन्टरमा हाल ३ सय ३४ जना प्रभावित बसिरहेका छन्।
बाढीपछि नुवाकोटमा बेपत्ताको खोजी, राहत, उद्धार तथा विस्थापितको व्यवस्थापनको काम अझै जारी रहेको छ।
केदार ढकाल
HUMAN RIGHTS NEWS PORTAL