नुवाकोट । २०८३ असोज ५ गते
बाढीबाट नुवाकोटमा पुगेको जनधन तथा भौतिक पूर्वाधारको क्षति र प्रभावित नागरिकको अवस्थाबारे जिल्ला विपद् व्यवस्थापन समितिको बैठकमा छलफल भएको छ।
प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद रेग्मीको अध्यक्षतामा बसेको बैठकमा विभिन्न राजनीतिक दलका प्रतिनिधि, सरकारी तथा गैरसरकारी संघसंस्थाका प्रतिनिधि र अन्य सरोकारवालाको सहभागिता रहेको थियो।
बैठकमा सहभागीहरूले बाढीबाट प्रभावित तथा विस्थापित नागरिकको अवस्था, राहत तथा उद्धारका क्रममा भएका काम र आफ्नो संस्थाले प्रभावित क्षेत्रमा गरेको सहयोगबारे जानकारी गराएका थिए। विभिन्न संस्थाका प्रतिनिधिले बाढी प्रभावित क्षेत्रको अवस्था तथा तत्काल आवश्यक सहयोगका विषयमा समेत धारणा राखेका थिए।
यस्तै, बाढीका कारण सडक, पुल, खानेपानी, विद्युत लगायतका भौतिक पूर्वाधारमा पुगेको क्षतिको विवरणसमेत बैठकमा प्रस्तुत गरिएको थियो। सहभागीहरूले तत्कालीन राहतसँगै प्रभावित नागरिकको पुनःस्थापना र क्षतिग्रस्त संरचनाको पुनर्निर्माणलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएका थिए।
बाढीपछि जिल्लामा देखिएको समस्याको समाधानका लागि सरकारी निकाय, राजनीतिक दल, गैरसरकारी संस्था तथा अन्य सरोकारवालाबीच प्रभावकारी समन्वय र सहकार्य आवश्यक रहेको बैठकमा सहभागीहरूले बताएका थिए।
केदार ढकाल
HUMAN RIGHTS NEWS PORTAL