धादिङ । २०८३ भदौ १० गते

त्रिशूली नदीमा आएको बाढीले धादिङको मलेखुस्थित फुर्केखोला पुल बगाएको छ । पुल बगाएसँगै धादिङका आठ स्थानीय तहलाई पृथ्वी राजमार्गसँग जोड्ने मुख्य सडक सम्पर्क अवरुद्ध भएको छ । फुर्केखोला पुल हुँदै धादिङको सद्धलेक, ज्वालामुखी, त्रिपुरासुन्दरी, नेत्रावती, गङ्गा जमुना, खनिया बास, रुवीभ्याली गाउँपालिका र नीलकण्ठ नगरपालिका जाने सडक हाल अवरुद्ध भएको छ ।

भोटेकोशी नदीमा आएको बाढिले त्रिशूली नदीमा पानीको बहाव बढ्दा फुर्के खोलास्थित पुल बगाएको हो । उक्त पुल धादिङ बेशी तथा जिल्लाको उत्तरी क्षेत्रलाई मलेखु हुँदै पृथ्वी राजमार्गसँग जोड्ने महत्त्वपूर्ण सडक संरचना हो । पुल बगाएपछि धादिङ बेशीबाट मलेखुतर्फ तथा जिल्लाका विभिन्न स्थानीय तहबाट पृथ्वी राजमार्गतर्फ हुने सवारी आवागमन प्रभावित भएको छ । सडक सम्पर्क अवरुद्ध हुँदा यात्रु तथा मालवाहक सवारीसाधनको आवतजावतमा समस्या उत्पन्न भएको छ । त्रिशूली नदीमा आएको बाढीले जरेखेत, घाटबेशीलगायतको अन्य स्थानको पुल बगाएको छ ।

रासस