नुवाकोट । २०८३ असोज १२ गते
२०७२ सालको भूकम्पपछि घरबार छाडेर नयाँ थातथलोको खोजीमा रसुवाको उत्तरगया गाउँपालिका–१ खाल्टे पुगेका २ सय ३२ परिवार ०८३ भदौ १० गतेको बाढीपछि फेरि विस्थापित भएका छन्। वर्षौँ लगाएर बनाएको घरबास बाढीले बगाएपछि उनीहरू अहिले नुवाकोटको विदुर नगरपालिका–५ बाणाचौतारास्थित होल्डिङ सेन्टरमा आश्रय लिएर बसेका छन्।

भूकम्पपछि खाल्टेमा घर बनाएर नयाँ जीवन सुरु गरेका परिवारले बालबालिकाको पढाइ, जीविकोपार्जन र भविष्यका योजना अघि बढाउँदै आएका थिए। तर, भोटेकोशीमा आएको बाढीले घरबाससँगै उनीहरूका ती योजना पनि तहसनहस बनाइदिएको छ।

बाढीपीडित वीरबहादुर तामाङले भूकम्पपछि दुःख गरेर बनाएको घरसमेत बाढीले बगाएपछि अब खाल्टे फर्किन नसक्ने बताउनुभयो। “२०७२ सालको भूकम्पपछि खाल्टे आएर घर बनाएर बसेका थियौँ। अहिले बाढीले त्यो ठाउँ पनि बगायो। अब हामी रसुवा फर्कन चाहँदैनौँ। सरकारले सुरक्षित ठाउँमा बसोबासको व्यवस्था गरिदिनुपर्छ,” उहाँले भन्नुभयो।

बाणाचौताराको होल्डिङ सेन्टरमा अस्थायी टेन्टमा बसिरहेका परिवारलाई अबको बसोबास र जीविकोपार्जनको चिन्ता छ। उनीहरू तत्कालीन राहतसँगै सुरक्षित स्थान पहिचान गरी स्थायी पुनर्स्थापना, घरबास र जीविकोपार्जनको व्यवस्था गर्न सरकारसँग माग गरिरहेका छन्।
भूकम्पपछि नयाँ ठाउँमा जीवन सुरु गरेका उनीहरूलाई प्राकृतिक विपत्तिले दोस्रोपटक विस्थापित बनाएको छ। त्यसैले यसपटक उनीहरू जोखिमयुक्त क्षेत्रमा फर्कनुभन्दा सुरक्षित र स्थायी थातथलोको व्यवस्था हुनुपर्ने माग गरिरहेका छन्।
केदार ढकाल
HUMAN RIGHTS NEWS PORTAL