रसुवा । २०८३ असोज २५ गते
भोटेकोशी नदीमा आएको बाढीले गोसाइँकुण्ड गाउँपालिका–२ स्थित रसुवागढी नाका र टिमुरे बजार बगाएपछि नेपाल–चीन व्यापारको प्रमुख नाका रसुवागढीको अस्तित्व संकटमा परेको छ।
भन्सार विभागको तथ्याङ्कअनुसार आर्थिक वर्ष ०८१/८२ मा यस नाकाबाट ८५ अर्ब २३ करोड रुपियाँ बराबरको वस्तु आयात र २ अर्ब ४ करोड रुपियाँ बराबरको निर्यात भएको थियो। यो नेपालको कुल वस्तु आयातको ४.७२ प्रतिशत र निर्यातको ०.७४ प्रतिशत हो। चालु आर्थिक वर्षको सुरुवाती ६ महिनामा मात्रै यस नाकाबाट ४५ अर्ब ७३ करोड रुपियाँ बराबरको आयात भएको थियो।
बाढीपछि नाका पूर्ण रूपमा ठप्प हुँदा राज्यले अर्बौँ रुपैयाँ राजस्व गुमाउनुका साथै होटल, यातायात, कन्टेनर ढुवानी, लोड–अनलोड र भन्सार एजेन्टलगायत व्यवसायमा आश्रित हजारौँ नागरिकको रोजगारी प्रभावित भएको छ। सडक सम्पर्क विच्छेद हुँदा कैलाश मानसरोवर यात्रामा रहेका सयौँ पर्यटकसमेत प्रभावित भएका छन्।
प्राचीनकालदेखि नेपाल र तिब्बतबीच व्यापार तथा सांस्कृतिक आदानप्रदानको प्रमुख मार्गका रूपमा रहेको रसुवागढीमा वि.सं. २०१३ मा भन्सार कार्यालय स्थापना भएको थियो। चीन सरकारले वि.सं. २०७४ मा यसलाई अन्तर्राष्ट्रिय नाकाको मान्यता दिएपछि यसको आर्थिक तथा रणनीतिक महत्त्व थप बढेको थियो। तातोपानी नाका पूर्ण क्षमतामा सञ्चालन हुन नसक्दा रसुवागढी नेपाल–चीन व्यापारको प्रमुख आधार बनेको थियो।
बाढीले नाका र आसपासका बस्ती तथा संरचनामा क्षति पुर्याएपछि यसको पुनर्निर्माण चुनौतीपूर्ण बनेको छ। स्थानीय कामीनुर्पु तामाङले विस्तृत अध्ययन गरी उपयुक्त स्थानमा बस्ती तथा आवश्यक संरचना पुनर्निर्माण गर्न सरकारसँग माग गर्नुभएको छ।
हेमनाथ खतिवडा
HUMAN RIGHTS NEWS PORTAL