मकवानपुर । २०८३ असोज २८ गते
भोटेकोशी बाढीमा २५ वर्षीय छोरा प्रदीप बेपत्ता भएको ४७ दिन बितिसक्दा पनि हेटौँडा उपमहानगरपालिका–५ का ७० वर्षीय बाबुराम सापकोटाले न छोराको शव फेला पार्नुभएको छ, न काजकिरिया गर्ने खर्च जुटाउन सक्नुभएको छ । आर्थिक अभाव र शारीरिक अशक्ततासँग जुधिरहेका उहाँ छोराको अन्त्येष्टि संस्कारका लागि सहयोग माग्दै हिँडिरहनुभएको छ ।
बेपत्ता छोराको शव नभेटिएपछि पुरेतले कुशको शव बनाएर परम्पराअनुसार अन्त्येष्टि गर्न सुझाव दिएका छन् । तर, घरमा एक पैसा पनि नभएको र राहतसमेत नपाएको बाबुरामले बताउनुभयो । काजकिरिया गर्ने खर्च जुटाउन नसकेपछि उहाँ ०८३ असोज २५ गते जिल्ला प्रशासन कार्यालय मकवानपुर पुगेर प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीसँग सहयोग माग्नुभयो ।
‘कमाइ गर्ने छोरा भोटेकोशीको बाढीमा बेपत्ता भयो । पुरेतले कुशको शव बनाएर काजकिरिया गर्न भनेका छन् । खर्च नभएपछि के गर्ने भन्ने भएको छ,’ बाबुरामले भन्नुभयो, ‘पछि पाउने राहत रकमबाट कट्टा हुने गरी काजकिरिया गर्न केही रकम उपलब्ध गराइदिन अनुरोध गरेँ ।’
रुखबाट लडेर दाहिने खुट्टा भाँचिएका बाबुराम दमको रोगबाट समेत पीडित हुनुहुन्छ । कानसमेत राम्रोसँग नसुन्ने उहाँलाई शारीरिक अशक्तताका बीच छोराको अन्त्येष्टि संस्कारको खर्च जुटाउन कठिन भएको छ ।

प्रमुख जिल्ला अधिकारीले हेटौँडा उपमहानगरपालिका–५ का वडाध्यक्षलाई राहत रकम प्राप्त भएपछि कट्टा हुने गरी सहयोग उपलब्ध गराउन अनुरोध गर्नुभएको छ । वडाध्यक्ष सुशील घिमिरेले तत्काल २० हजार रुपियाँसम्म सहयोग गर्न सकिने बताउनुभएको छ ।
सरकारले विपद्मा बेपत्ता भएका व्यक्तिको शव नभेटिए ४५ दिनपछि मृत घोषणा गर्ने निर्णय गरेको भए पनि आवश्यक प्रक्रिया पूरा गर्न समय लाग्ने र आफन्तले पाउने राहत रकमसमेत यकिन भइनसकेको प्रमुख जिल्ला अधिकारीले बताउनुभयो ।
बाबुरामका जेठा छोरा प्रदीप ६ महिनाअघि मात्रै मजदुरी गर्न रसुवा जानुभएको थियो । उहाँ त्यहाँ निर्माणाधीन जलविद्युत् आयोजनामा काम गर्नुहुन्थ्यो । भदौ ९ गते साँझ प्रदीपले आमा यमकुमारीलाई दशैँमा घर फर्किने बताउनुभएको थियो । तर, दशैँमा घर फर्किने वाचा गरेका छोरा त्यसपछि परिवारको सम्पर्कमा आउनुभएन ।
‘दशैँमा आउँछु भनेको छोराको अत्तोपत्तो नै छैन,’ यमकुमारीले भन्नुभयो, ‘बुढेसकालमा यस्तो आपत् आइलाग्यो ।’
बाबुरामका दुई छोरामध्ये प्रदीप जेठा हुनुहुन्छ । कान्छो छोरा हेटौँडामै पढ्दै हुनुहुन्छ । कमजोर आर्थिक अवस्था रहेको सापकोटा परिवारका लागि कमाइ गर्ने छोराको बेपत्ताले थप संकट निम्त्याएको छ ।
भोटेकोशी बाढीमा बेपत्ता भएका व्यक्तिको लामो समयसम्म शव नभेटिएपछि प्रभावित अधिकांश परिवारले कुशको शव बनाएर परम्पराअनुसार अन्त्येष्टि गरिसकेका छन् । तर, सापकोटा परिवार भने छोराको मृत्युको शोकसँगै अन्त्येष्टि संस्कार गर्न आवश्यक खर्च जुटाउन नसक्ने अवस्थामा छ ।
मञ्जिता मैनाली
HUMAN RIGHTS NEWS PORTAL